कांग्रेसले सरकार सम्हाल्नेवित्तिकै धमाधम खोप आउन थाल्यो, केन्द्र थपेर कुपनमार्फत खोप लगाइने

काठमाडौं । सरकारले कोरोनाभाइरसको नियन्त्रण तथा रोकथामका लागि सय दिने योजना बनाउने भएको छ ।

आइतबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको कोरोना नियन्त्रण र रोकथामसम्बन्धी बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले सय दिने योजना बनाउने प्रस्ताव गरे ।

गृहमन्त्री खाणले कोरोनाविरुद्धको अभियान र खोपमा स्वास्थ्य मन्त्रालयको तयारीका विषयमा जानकारी माग गरेका थिए ।

राज्यमन्त्री श्रेष्ठले निजी मेडिकल कलेज तथा अस्पतालसँग समन्वय गरिने बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले कोरोनाविरुद्धको खोप लगाउने कार्य व्यवस्थित गर्न खोप केन्द्रको संख्या बढाएर टोकन व्यवस्थापन गर्ने बताए ।

४० लाख फाइजर खोप किन्नलाई आवश्यक प्रवन्ध मिलाइएको राज्यमन्त्री श्रेष्ठले बताएका छन् ।

मन्त्री श्रेष्ठले एक हप्तामा जापान र चीनबाट १६–१६ लाख गरी ३२ लाख खोप आउन लागेको पनि बताएका छन् ।

उनले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गृह प्रशासनको सहयोगको अपेक्षा राखिएको भन्दै सरकारी अस्पतालमा अक्सिजन प्लान्ट र सीमामा खोप लगाइने पनि बताएका छन् ।

Published : Sunday, 2021 August 1, 4:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया