ललितपुरमा रक्स ग्रुप र लायन्स क्लवद्वारा रक्तदान, हौसला दिन पुगे कांग्रेस नेता राणा र महर्जन

चापागाउँ । ललितपुर जिल्लाको चापागाउँस्थित भन्सार डबलीमा ‘अन द रक्स ग्रुप’ र ‘लायन्स क्लब काठमाडौं शुभ आरम्भ’ले रक्तदानको कार्यक्रम गरेका छन् ।

शनिबार सम्पन्न रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री तथा तरुण दल पूर्व केन्द्रीय अध्यक्ष उदयशम्शेर राणा रहेका थिए । उनले रक्तदान कार्यक्रमको उट्घाटन गर्नुका साथै रक्तदाताहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रमका विशेष अतिथिमा नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव एवम् युवा नेता मीनकृष्ण महर्जन रहेका थिए ।

रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेको ‘अन द रक्स ग्रुप’का अध्यक्ष नवीन श्रेष्ठले जानकारी दिएका छन् । ग्रुपले प्रत्येक वर्ष रक्तदान गर्दै आइरहेको छ ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, नेपाली कांग्रेस गोदावरी नगर कार्य समितिका सभापति सुरज श्रेष्ठ, तरुण विभाग बागमती प्रदेशका सदस्य पदमनारायण तिमिल्सिना, सचिव उमेश मेहेर कायस्थ, तरुण नेता तथा करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी दयाराम महर्जन, नेपाली कांग्रेस गोदावरी नगरपालिका–११ का सभापति सागर चित्रकार, नेविसंघ ललितपुर– १ का अध्यक्ष राज लामालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आरएससी इन्टरप्राइजेजका सञ्चालन राहन चित्रकारले प्रमुख अतिथि राणा र विशेष अतिथि महर्जनलाई मायाको चिनो स्वरुप निःशुल्क सुगर टेस्ट गरिदिएका थिए ।

कोरोना महामारीका बेला ललितपुरसहित काठमाडौं उपत्यकाभित्र बिरामीहरूलाई रगत अभाव नहोस् भनेर रक्तदान गरिएको आयोजकले जनाएका छन् ।

Published : Saturday, 2021 July 31, 4:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया