ललितपुरमा दिगि छेँमा क्षमा पूजासहित पुनर्निर्माण शुरू

काठमाडौं । ललितपुरस्थित हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गर्दै पुनर्निर्माण कार्य शुरु भएको छ ।

पुनर्स्थापना कार्य शुरु गर्नु पूर्व क्षमा माग्ने रिति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन् ।

काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकारका अधिकारीहरू पूजामा सहभागिता जनाएका थिए । नेपाली रुपियाँ १८.१ करोडमा उक्त महाविहारको पुनर्निर्माण हुन लागेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सुनौलो मन्दिरको रुपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ । यो मन्दिर पाटनका बौद्घ मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो ।

भूकम्पले क्षति पुर्‍याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनस्र्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाइसकेको छ । यो परियोजना पनि ती २८ वटा परियोजना भित्रकै एक हो ।

ललितपुर जिल्लामा सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ ।

Published : Friday, 2021 July 30, 11:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया