ठाकुर–महतोले धेरै चुरिफुरी गरे उपेन्द्रले यस्तो कदम उठाउनेछन्

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको छ ।

बुधवार पार्टी कार्यालय तुल्सीलाल अमात्य स्मृति भवन ललितपुरमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको हो ।

अभियान भदौ १ गतेदेखि मंसिर मसान्तसम्म चल्नेछ । यो अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धी कामहरू गर्ने र पार्टीलाई दुरुस्त बनाउने अभियानमा लाग्ने निर्णय भएको छ ।

बैठकले पार्टीभित्र आउन सक्ने समस्या, अनुशासन सम्बन्धी घटनाको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिको संयोजकमा नवराज सुवेदी र सदस्यहरूमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशीला श्रेष्ठलाई चयन गरिएको छ ।

बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा कपिलवस्तु जिल्लाका पार्टी केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरिएको छ ।

उता, जसपाले लुम्बिनी प्रदेश सभाका तीन जना सांसदलाई पुनः निष्कासन गरेको पत्र पठाएको छ । पार्टीको निर्णय विपरीत शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरूलाई फेरि निष्कासन गरेको हो ।

सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई जसपा अध्यक्ष उपेन्द्र यादवले यसअघि पनि वैशाख १६ गते प्रदेश सभा सदस्य र पार्टीबाट निष्कासन गरेका थिए ।

बिहीबार फेरि जसपा अध्यक्ष उपेन्द्र यादवले तीनै जनालाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको लुम्बिनी प्रदेश सभामा जसपाका संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका छन् ।

महन्थ ठाकुर र राजेन्द्र महतोका कारण जसपाभित्र भाँडभैलो भएको थियो । ठाकुर–महतोको पराजय हुनेवित्तिकै यादवले जसपालाई अगाडि बढाएका छन् ।

धेरै चुरिफुरी गरे ठाकुर–महताको सांसद र पार्टीमा रहेको सबै पद फुत्किनेछ । अध्यक्ष यादवले अनुशासनको कारबाही गरेर निकाल्नेछन् ।

Published : Thursday, 2021 July 29, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया