गगनद्वारा प्रधानमन्त्री देउवाको खुलेर प्रशंसा, कांग्रेसको इज्जत बढाउने निर्णय

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राष्ट्रिय योजना आयोगमा गरिएको नियुक्तिको प्रशंसा गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले मंगलबार राति ट्वीट गर्दै प्रधानमन्त्री देउवाद्वारा आयोगमा उपाध्यक्षमा डा.विश्व पौडेललाई गरिएको नियुक्ति सहि रहेको बताएका हुन् । उनले प्रधानमन्त्री देउवा र उपाध्यक्षमा नियुक्ति पाएका पौडेलको प्रशंसा गरेका छन् ।

‘सहि व्यक्ति उपयुक्त ठाउँमा नियुक्ति । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएकोमा आदरणीय दाई डा.विश्व पौडेललाई बधाई’, थापाले भनेका छन् ।

‘तपाईंको कार्यकालमा योजना आयोगले नयाँ उचाइँ प्राप्त गर्नेछ र नेपालको विकासको बहसमा नयाँ आयाम थपिनेछ भन्ने विश्वास लिएको छु । सफल कार्यकालको कामना’, कांग्रेसका युवा नेता थापाले भनेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा.पौडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । डा.पौडेलको नियुक्तिको चारैतिरबाट प्रशंसा भएको छ ।

Published : Tuesday, 2021 July 27, 11:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया