एमालेकी सांसद चौधरीले दिइन् माधव नेपाललाई औकातमा बस्न चेतावनी

काठमाडौं । एमालेकी सांसद गंगा चौधरीले संसदीय समितिमा एमालेकै वरिष्ठ नेता समेत रहेका माधवकुमार नेपालबाट थारु समुदायका सांसद नारदमुनि रानामाथि गरिएको व्यवहारको विरोध गरेकी छिन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद रानामाथि भएको व्यवहारको विरोध गरेकी हुन् ।

सांसद चौधरीले समितिमा भएको घटना समस्त थारु समुदायको अपमान भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘१० गते जुन दृश्य समितिभित्र देखियो, त्यो सदियौंदेखि शासकले थारुमाथि शोषण गरेको झझल्को दिलाउँछ ।’

उनले समिति बैठकमा सांसद नारदमुनि रानामाथि अधिनायकवादी चरित्र प्रदर्शन भएको बताएकी छिन् । रानाको वाक स्वतन्त्रतामाथि गम्भीर आघात पुगेका सांसद सांसद चौधरीले बताएकी छिन् ।

‘लोकतन्त्र भनेको के बोल्न नपाउने हो र ? फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ?’, एमाले सांसद चौधरीले भनेकी छिन्, ‘एउटा बराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने ? त्यहाँ सबैको एउटै हैसियत हैन र ?’

सांसद चौधरीले आगामी दिनमा यस्तो घटना दोहो¥याए थारु समुदायलाई स्वीकार्य नहुने चेतावनी दिएकी छिन् । समिति बैठकमा एमाले वरिष्ठ नेता नेपालले सांसद रानालाई प्रतिगमनको मतियार, बाहिर जानुस् भनेका थिए ।

समितिको बैठकमा एमालेकै सांसद रानाले एमाले वरिष्ठ नेता नेपालको आलोचना गर्दा एमालेकै नेपाल पक्षका सांसद र अरु दलका सांसद उनीमाथि खनिएका थिए ।

Published : Tuesday, 2021 July 27, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया