गगनले सन्नाटा ल्याइदिएपछि देउवा मख्ख

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पुनःस्थापित संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्द थापाले अध्यायको सुखान्तको लागि सरकार र सांसद दुवैसँग नयाँ अपेक्षाहरू रहेको बताएका छन् ।

‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने । न विधि मान्ने, न विज्ञानलाई पत्याउने । स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने’, थापाले भने, ‘जनताको दुहाइ दिने तर आसेपासे पोस्ने । बाहिर सिंह जस्तो गर्जने, भित्र लम्पसार पर्ने ।’

‘यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार’, सांसद थापाले भने, ‘नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन ।’

उनले संसदले पनि संकल्प गर्नुपर्ने बताएका छन् । ‘न त यो संसदलाई बेवास्ता गर्न दिइनेछ । न त कामविहीन बनाउन’, उनले भने, ‘न त मनोमानी ढंगले स्थगित गर्न दिइनेछ । न त छल्न । यो संसद् सरकारसँग डराउने होइन, सरकार यो संसदसँग डराउनुपर्नेछ ।’

सांसद थापाले भने, ‘सांसद्को प्रश्नसँग, सरकारको निगरानीसँग । परीक्षा प्रधानमन्त्रीको मात्रै होइन, सभामुखको पनि छ। यो संसद् जोगाउन लाग्ने हामी प्रत्येक सांसद्को छ ।’

कांग्रेसका सांसद थापाले संविधानको धाराले प्रतिनिधि सभा र सांसद्को अधिकारले सरकार पुनःस्थापित भएको भन्दै अब सभामुख र सांसदको कर्मले संसद् र संविधानप्रति गुमेको जनविश्वासलाई पुनःस्थापित गर्नुपर्ने बताएका छन् ।

कांग्रेस सांसद थापाले संसदमा बोल्दै गर्दा सबै सांसदहरूले कान चनाखो भएर सुनेका थिए । सांसद थापाको कुरा सुनेर प्रधानमन्त्री शेरबहादुर देउवा मख्ख परेका थिए ।

Published : Tuesday, 2021 July 27, 2:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया