गृहमन्त्री खाणले अमेरिकासँग मागे खोप, जनताको स्वास्थ्यमा ध्यान केन्द्रित

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले भेटवार्ता गरेका छन् ।

सोमबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशीय आपसी सम्बन्धबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री खाणले अमेरिकी राजदूत बेरीसँग नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

खाणले भने, ‘अमेरिकाले आर्थिक वृद्धि, प्रकोप नियन्त्रण र कोभिड महामारीबाट बच्नका लागि दिँदै आएको सहयोगलाई निरन्तरता देओस भन्ने हाम्रो अपेक्षा छ ।’

‘हामीलाई नागरिकलाई महामारीबाट बचाउन खोप आवश्यक छ’, मन्त्री खाणले भने, ‘त्यो खोप अमेरिकाले सहयोगमा उपलब्ध होस् भन्ने हाम्रो भनाइ हो ।’

राजदूत बेरीले विगतमा भएको सहयोग निरन्तर रहने बताएका थिए ।

‘अमेरिकाले विगतमा दिँदै आएको सहयोगलाई निरन्तरता दिनेछ’, राजदूत बेरीले भने, ‘हामी सहयोग र सहकार्यका लागि तयार छौँ ।’

यसअघि अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गरिसकेको छ । अमेरिकाले खोप फेरि पनि सहयोग गरोस् भन्ने पक्षमा नेपाल रहेको छ ।

Published : Monday, 2021 July 26, 11:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया