किशुनजीको व्यक्तित्व जस्तो ओजपूर्ण मन्त्रिमण्डल कहिले आउँला ?

युवराज संग्रौला

मन्त्री भन्ने बितिकै अब त त्यो मानिस बदमाश हो भन्ने मनोविज्ञान बनिसके छ । किन यस्तो मनोविज्ञान बन्यो होला ? को मन्त्री बन्यो वा बनेन भन्ने कुरा महत्वपूर्ण होइन अब, सोच्नु पर्ने कुरा के हो भने राष्ट्रको राजनीतिमा भ्रष्टाचारको अवस्था कति गम्भीर भएछ ? किन मान्छे मन्त्री बन्न दौडधुप गर्छ नेपालमा ? यसको उत्तर दिन अब गाह्रो रहेन ।

१. नेपालमा पञ्चायतका ३० वर्षमा मन्त्री हुनु भनेको, त्यो मानिसलाई राजाले चिनेको छ भन्ने अर्थ लाग्थ्यो । अनि के फाइदा हुन्थ्यो र राजाले चिन्दा ? उत्तर सोझो छ, त्यो पदले त्यो व्यक्तिको साख वा हैसियत ठूलो हुन्थ्यो । तेसलाई भ्रष्टाचार गर्ने अवसर प्राप्त हुन्थ्यो, सिडियो र अञ्चलाधीशलाई भनेर आफूलाई समर्थन गर्ने पञ्चको संरक्षण गर्न सजिलो हुन्थ्यो । अर्थात मन्त्री भनेको राष्ट्रको सम्पत्ति, आय, श्रोत, राजश्व आदिमा लुट गर्ने प्रमाणपत्र थियो, तेसबेला । राजतन्त्रको कन्तबिजोग तेसैले पार्‍यो ।

२. पञ्चायतको मध्यतिर पढेलेखेका विज्ञहरू मन्त्री बने । केही विकासका राम्रा अभ्यासहरू देखिए जस्तै पूर्वमा चियाखेती, देशभरि स्कुल कलेज, कृषिमा आधुनिकीकरण, इत्यादि केही हदसम्म फस्टाए । तर यस्ता विकासले एउटा चुनौती ल्याउँदो रहेछ । त्यो हो मानिसको चेतना । तर, पञ्चायत र दरबारलाई त्यो मनपर्दो रहेनछ । पञ्चायतको पछिल्लो समयमा मन्त्री भनेको जोकर हो भन्ने अर्थ लाग्न थाल्यो । र, भ्रष्टाचार गर्ने, चतुर/धुर्त, गंवार र लोकतन्त्रलाई सराप्न जान्ने मन्त्री हुन्छ भन्ने मनोविज्ञान निर्माण भयो ।

३. एउटा मन्त्रिमण्डल थियो । जसप्रति मानिसको श्रद्धा थियो । त्यो मन्त्रिमण्डलले सिङ्गो राष्ट्रको स्वरुपको प्रतिनिधित्व गरेको भान हुन्थ्यो । त्यो मन्त्रिमण्डल २९४७ को अन्तरिम मन्त्रिपरिषद थियो । देवन्द्रराज पाण्डे, डा.मथुरा श्रेष्ठ, सहाना प्रधान जस्ता र प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किशुनजी)को व्यक्तित्वले सरकारको ओज निर्माण गरेको थियो ।

४. अहिलेसम्म आइसक्दा मन्त्रीको पद भनेको लुट्ने, पार्टी र आफ्नो लागि कमिसन लिने, ठेक्काबाट कमिसन लिने, मन्त्रालयको बजेट लुट्ने, आफ्ना नातेदार र झोले कार्यकर्तालाई जागिर दिने, बैठकका नाममा महँगो होटलबाट खानाखाजा मगाएर खाने, हेलिकप्टर चड्ने, र मन्त्री भएको दुई/तीन महिनामा रातो रसिलो देखिन चाहानेले खाने लामो छोटो जागिर हो भन्ने बुझिन्छ ।

५. अहिले मन्त्री हुनेले केही अर्थ बताउँछ । मन्त्री हुने मानिस प्रधानमन्त्रीको गुटको नजिकको मानिस हो । त्यो पार्टीभित्र सेटिङ्ग मिलाएर व्यापारीबाट कमिसन लिन सिपालु छ । तेसले पार्टीलाई ठूलो चन्दा दिएको छ । तेसको विदेशीसँग लेनदेन तथा बसउठ छ । त्यो विदेशीको जासुस हो । त्यो भ्रष्ट हो, र लम्पट छ भन्ने बुझिन्छ । एकाध मानिस यसभित्र मूल्यमान्याता बोक्ने झुक्किएर पर्लान तर, अधिकांश चाकरी, सेटिङ्ग, नेताको बाध्यताबाट आउँछन् ।

६. मन्त्री हुन चाहानेले जे पनि गर्छ । के–के गर्छ ? अनेक नामका संगठनका मुस्तण्डको प्रयोग गर्छ । दवाव निर्माण गर्न, पार्टीभित्र नेताको भनसुन गराउँछ, चन्दा दिने कमिसनखोर व्यापारीबाट लबिङ्ग गराउँछ, दोग्ला बुद्धिजीवी र बिकाउ पत्राकारको सहयोगले दवाव सिर्जना गर्छ र पार्टीभित्र आफै गुटको प्रतिनिधित्व गर्छ । यस्ता मानिसले गर्ने मकारीको सिमा हुँदैन ।

७. यिनै कुरा अहिले जनताले बुझेका मन्त्रीका चेहरा हुन् । मन्त्री हुनु राजनीतिको एउटा मात्र लक्ष्य हो । भोट माग्दा नै मैले जिते भने मेडिकल कलेजको लाइसेन्स, क्यासिनो लाइसेन्स, होटलको लाइसेन्स, एयरलाईन्सको लाइसेन्स, पल्टिङ्गका लागि सार्वजनिक जग्गा दर्ता अनेक कुराको भरोसा दिएर चन्दा लिएको हुन्छ । त्यो व्यक्ति मन्त्री हुन्छ जो माफियाबाट पालित पोषित र समर्थित हुन्छ ।

केही समय पहिला चीनको एउटा काउन्टीबाट डेपुटीहरूको निर्वाचन हुँदा केहिले आफ्नो जीत सुनिश्चित गर्न प्रत्यासीलाई पैसा दिएर उम्मेदवारी नदिने बनाए छन् । एउटाले तेसो गरेपछि अर्को पनि तेसो गर्न बाध्य भएछ । चिनियाँ भ्रष्टाचार उन्मूलन ब्यूरोले जाँच गर्दा ३०/४० जना यस्ता डेपुटी फेला पारेछ । केही जेल गए, केहिले मृत्युदण्ड पाए । जापानमा एक जना प्राध्यापकले लेख लेखे एउटा मन्त्रीले राजीनामा दियो, डेनमार्कमा कानून मन्त्रीले भने मेरो त साइकल मात्र छ गाडी छैन, म आफैले त्याहाँको प्रधानमन्त्री ग्रोसरीमा खानेकुरा किन्न आएको देखें, संसारमा मिल्ट्री पोसाक र राइफल लिएर मन्त्री हिंडेको देखएको छैन, होला सिरिया लेबनान जस्ता देशमा होला । अहिले नेपालमा मन्त्री कस्ता मान्छे हुन्छन् देख्नु नै भएको छ । यो सबै राजनीतिमा बिचारधाराको पतन, राजनीति व्यापार र जागिर र लुटन्त्रको प्रेमी–प्रेमिका भएको कारणले भएको हो । तपाईंलाई राम्रो देश मनाउने बिचार छ भने यो फोहोर बढार्ने चेत खुल्नुपर्छ झोले हुने होइन । नेपाल जिन्दावाद ।

(लेखक युवराज संग्रौला वरिष्ठ अधिवक्ता एवम् पूर्वमहान्यायाधिवक्ता हुन्)

Published : Monday, 2021 July 26, 7:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया