मन्त्रिमण्डल समावेशी बनाउन कांग्रेस नेता थकालीको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले केन्द्र सरकार र गण्डकी प्रदेश सरकारलाई समावेशी बनाउन सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत कांग्रेस नेता थकालीले सरकारलाई समावेशी बनाउनुपर्ने बताएका हुन् । उनले कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले आफ्नो मन्त्रिमण्डल समावेशी बनाएको स्मरण गरेका छन् ।

‘गण्डकी प्रदेशका नवनियुक्त सम्पूर्ण मन्त्रीहरूमा हार्दिक बधाई’, उनले भने, ‘२०१५ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व.वीपी कोइरालाको मन्त्रिमण्डलको समावेशिता हेर्नोस्, हिमालदेखि तराई, पूर्वदेखि महाकाली, महिलादेखि जनजाति र पिछडिएको वर्ग र क्षेत्र समेटिएको छ । कति सुन्दर ।’

उनले भने, ‘नेपाल जस्तै बिविधताले भरिपूर्ण । गण्डकी प्रदेश जहाँ वीपी पुत्र एवम् कांग्रेस महामन्त्री शशांक कोइरालाका निर्वाचन क्षेत्रदेखि वरिष्ठ नेता रामचन्द्र पौडेलको क्षेत्र पर्दछ ।’

‘त्यस मन्त्रिमण्डलमा कांग्रेसका न त दलित, न त महिला, न त क्षेत्रीय सन्तुलन ?’, कांग्रेस नेता थकालीले प्रश्न गरेका छन् ।

कांग्रेसले मात्रै मुलुकलाई समावेशिताका आधारमा अगाडि बढाउन सक्ने बताएका उनले कांग्रेसले नेतृत्व गरेको सरकार समावेशी बन्न नसकेको चिन्ता जनाएका हुन् । उनले कांग्रेसलाई बचाउन समावेशी बनाउनुपर्ने बताएका छन् ।

Published : Sunday, 2021 July 25, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया