कांग्रेसका युवा नेता तिमिल्सिनाद्वारा बर्दियामा स्वास्थ्य सामग्री र स्कूल ब्याग वितरण

बर्दिया । नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले बर्दिया जिल्लाको मधुवन नगरपालिका– ३ मा रहेको श्री जनचेतना प्राथमिक र श्री जनआधार प्राथमिक विद्यालयका विद्यार्थीलाई स्कूल ब्याग, स्टेशनरी र शैक्षिक सामग्रीहरू वितरण गरेका छन् ।

नेता तिमिल्सिनाको संयोजनमा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज अनामनगर, काठमाडौंको सहयोगमा सरकारी विद्यालयहरूमा स्कूल ब्यागसहितका शैक्षिक सामग्रीहरू वितरण गरिएको हो ।

ग्रामीण भेगका विपन्न विद्यार्थीलाई विद्यालय जान उत्साहित बनाउने उदेश्यले कांग्रेसका युवा नेता तिमिल्सिनाले शैक्षिक सामग्रीहरू वितरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फूलाराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गोपाल दहितको प्रमुख आतिथ्य र नेपाली कांग्रेसका युवा नेता तिमिल्सिनाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा तरुण विभागकी केन्द्रीय सदस्य सरस्वती शाह, नेविसंघ भारतका महामन्त्री सूर्य न्यौपाने, वडाध्यक्ष नारायण मल्ल, बर्दिया कांग्रेसका सदस्य मेघबहादुर गुरुङ, नेपाली कांग्रेस मधुवन नगरपालिका कार्यसमितिका उप–सभापति बलिराम चौधरी, शिक्षक, विद्यार्थी, अभिभावकलगायत करीव २ सय जनाको उपस्थिति रहेको थियो ।

यसैबीच, कांग्रेसका युवा नेता तिमिल्सिनाले गेरुवा गाउँपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । उनले अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

Published : Sunday, 2021 July 25, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया