अवैध भारतीय नोटसहित श्रोत नखुलेको पैसा बरामद

विराटनगर । मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट अवैध रुपमा ल्याउँदै गरेको भारतीय नोट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत उत्तरप्रदेश लखनउ बस्ने ३४ वर्षीय अतुल कुमार र सोही ठाउँ बस्ने ३५ वर्षीय संदिप सिंह रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा अतुलको साथबाट ५ सय दरको २ सय थान भारतीय नोट र संदीपको साथबाट ५ सय दरको २ सय १७ थान भारतीय नोट तथा १ सय दरको २१ थान, २० दरको ५ थान, १० दरको १ थान र १ दरको ४ थान अमेरिकी डलर सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई बरामद नोट सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उता, झापा जिल्लाको झापा गाउँपालिका–२ बेलाईतीबारीबाट श्रोत नखुलेको नगद ४० लाख ३७ हजार ६ सय ७० रुपियाँसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले ४६ वर्षीय गौरी मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

Published : Saturday, 2021 July 24, 11:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया