कम्युनिस्ट असफल हुँदा कांग्रेसलाई जबरजस्ती आइलागेको सत्ता

नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पाएको छ । लामो समयपछि कांग्रेस सत्तामा जान पाएको छ । सरकारको चाबी हात पारेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएपछि सुधारका केही राम्रा कामहरू गरेका छन् । देउवाले राजनीतिक संस्कारलाइृ सुधारेका छन् । विगतका गल्तीलाई दोहोरिन नदिने पक्षमा देउवा छन् ।

देउवाले काम गर्न सकेनन् भने उनको सरकार ढल्ने पक्का छ । सांसदहरूको समर्थन लिएर विश्वासको मत लिएका देउवालाई तनाव यथावत छ । विपक्षी दलहरूलाई मिलाएर जानुपर्ने चुनौती छ । पार्टीभित्रै पनि रामचन्द्र पौडेल समूहलाई पनि देउवाले मिलाउनुपर्छ । देउवाले सबै कुरा बुझेका छन् ।

देउवाले सरकारलाई कसरी अगाडि बढाउलान् धेरैलाई चासो छ । देउवाले पहिलो प्राथमिकतामा जनताको जीवन रक्षालाई लिएका छन् । देउवाले कोरोनाविरुद्धको खोपलाई पहिलो स्थानमा राखेर राम्रो कामको शुरुवात गरेका छन् । जनताको जीवन बच्यो भने मात्रै विकास हुन्छ । जीवन नै रहेन भने के को विकास ?

देउवा सरकारको नेतृत्व गर्न इच्छुक थिएनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूको दवावमा देउवाले प्रधानमन्त्रीको शपथ लिएका हुन् । देउवाले ५ वर्षसम्म प्रधानमन्त्रीको कुर्सीमा नजर नलगाउने कशम नै खाएका थिए । समयले यसरी देउवालाई बन्धक बनायो । बाध्य भएर प्रधानमन्त्रीको शपथ लिनु परेको छ ।

देउवाले बाँकी रहेको १८ महिनामा गर्न धेरै सक्छन् । तर, विश्वासको मत दिएका दलहरूले देउवालाई काम गर्न दिन्छन् वा दिँदैनन् ? प्रश्न उठेको छ । देउवालाई आफ्नै पार्टीभित्र पनि चुनौती छ । देउवा प्रधानमन्त्री बनेर झन् शक्तिशाली बनेको चर्चा कांग्रेसभित्र छ । देउवालाई रोकेर सभापति बन्ने सपना देखेका समूहलाई तनाब पनि भएको छ ।

अब देउवाले सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास गर्नुपर्छ । अधिकतम सहमतिका साथ काम गर्नुपर्छ । विगतमा केपी ओलीले गरेको गल्तीलाई फाल्नुपर्छ । दोहोर्‍याउनु हुँदैन ।

देउवाले परिवारवादलाई भुल्नुपर्छ । काम गर्न सक्ने नेताहरूलाई मन्त्री बनाउनुपर्छ । आफैले समय दिएर राज्यका संयन्त्रले काम गरेको कुरालाई ध्यान दिनुपर्छ । खोपमा देखाए जस्तो तदारुकता देउवाले आगामी दिनमा जनताको चाहनालाई हेर्नुपर्नेछ ।

Published : Thursday, 2021 July 22, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया