बागमती कांग्रेसको सुझावले देउवा खुसीले फुरुङ्ग, बालुवाटारमा खुसी साटासाट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर नेपाली कांग्रेस संसदीय दल बागमती प्रदेशले शुभकामना दिँदै कोरोना र बाढीपहिरो पीडितका समस्या समाधानमा ध्यान केन्द्रित गर्न सुझाव दिएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा पुगेको बागमती प्रदेशका सांसदहरूले देउवालाई कार्यकालको सफलताको शुभकामना दिएको हो । संसदीय दलका नेता बानियाँले प्रधानमन्त्री देउवालाई कोरोना महामारी र बाढीपहिरो पीडितका समस्या सम्बोधन गर्न अनुरोध गरेको जानकारी दिए ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाज्यूसँग समसामयिक राजनीतिक घटनाक्रममा छलफल भयो, कोरोनाविरुद्ध यथाशीघ्र खोपहरू ल्याएर सबै नागरिकलाई लगाइदिन र बाढीपहिरोले आहात जनतालाई राहतको व्यवस्था गर्न आग्रह अनुरोध गरेका छौँ’, कांग्रेसको बागमती प्रदेश सभाका संसदीय दलका नेता बानियाँले भनेका छन् ।

प्रधानमन्त्री देउवाले बागमती कांग्रेसलाई धन्यावाद दिँदै सहयोगका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाको भनाइ उदृत गर्दै संसदीय दलका नेता बानियाँले भने, ‘प्रधानमन्त्रीज्यूले सबैको सहयोगले आफू सफल हुने बताउनुभएको छ । सहयोगका लागि अपील गर्नुभएको छ । कोरोनाविरुद्धको खोपमा ध्यान केन्द्रित रहेको बताउनुभएको छ ।’

कांग्रेस सभापति समेत रहेका देउवाले विश्वासको मत पाएपछि बागमती प्रदेशले भेटेर शुभकामना दिएको छ ।

Published : Wednesday, 2021 July 21, 11:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया