मोहन बस्नेतकै शैलीमा सुर्खेतमा काम गर्दै तरुण अध्यक्ष विष्ट, कांग्रेसको इज्जत राखे

वीरेन्द्रनगर । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता हरि विष्टले नेपाल राष्ट्रिय आधारभुत विद्यालयको खेल मैदान निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।

तरुण दल सुर्खेतका अध्यक्ष विष्टले व्यक्तिगत खर्चमा विद्यालयलाई १ लाख रुपियाँको चेक उपलब्ध गराएका हुन् । वीरेन्द्रनगर नगरपालिका–१ धारापानी, पोखरीमा रहेको विद्यालयको खेल मैदान बनाउन आर्थिक सहयोग खर्च गरिनेछ ।

विद्यालयको खेल मैदान निर्माणका लागि सरकारी निकायबाट आर्थिक सहयोग नभएपछि विद्यालयलाई आफूले व्यक्तिगत रुपमा सहयोग गरेको अध्यक्ष विष्टले जानकारी दिएका छन् ।

तरुण दलका अध्यक्ष विष्टले भने, ‘विद्यालयको फिल्ड राम्रो नहुँदा बालबालिकालाई खेलकुदका लागि समस्या थियो । खेल मैदान मर्मत सम्भार गर्न १ लाख आवश्यक देखेपछि मैले सानो सहयोग गरेको हुँ ।’

विष्टले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमराज बिक र विद्यालयका प्रधानाध्यापक ओमप्रकाश ढुंगानालाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमराज बिकले तरुण दल र अध्यक्ष विष्टलाई खेल मैदानको मर्मत सम्भारका लागि गरिएको आर्थिक सहयोगप्रति धन्यावाद दिएका छन् ।

प्रधानाध्यापक ओमप्रकाश ढुंगानाले खेल मैदानको मर्मत भयो भने विद्यार्थीलाई खेलकुद गर्न सजिलो हुने बताएका छन् । उनले भने, ‘हाम्रो विद्यालयमा दलित समुदायका विद्यार्थी धेरै छन् । उनीहरूलाई खेलकुदमा अब सजिलो हुनेछ ।’

विद्यालयको खेल मैदान निर्माणका लागि राजु मगरातीको संयोजकत्वमा ७ सदस्यीय निर्माण समिति गठन गरिएको छ । खेल मैदान निर्माणको काम सुरूवात समेत भैसकेको छ ।

तरुण दल सुर्खेतका अध्यक्ष विष्ट कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेशका अध्यक्ष समेत हुन् ।

विष्टले गृहजिल्ला सुर्खेतमा कोरोना महामारीका बेला खाद्यान्नसहित विभिन्न सहयोग गर्दै आएका छन् । उनले आर्थिक अभावमा उपचार गर्न नसकेका दीनदुखिलाई उपचार समेत गर्दै आएका छन् । तरुण दल सुर्खेतका अध्यक्ष विष्टले अति विपन्न, मजदुर, दलित र समस्यामा रहेकाहरूलाई सहयोग गदै आएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले कोरोना महामारी र बाढीपहिरो पीडितका लागि सहयोग गर्दै आइरहेका बेला उनकै शैलीमा सुर्खेतमा तरुण दलका अध्यक्ष विष्टले पनि सहयोगहरू गर्दै आएका छन् ।

अध्यक्ष विष्टले पूर्वमन्त्री समेत रहेका बस्नेतको काम गर्ने शैली मन पाउँछन् । विष्टले मोहनबहादुर बस्नेत जस्तै दश जना नेताहरू कांग्रेसमा हुने हो भने अति विपन्न र समस्यामा परेका जनताहरूको सेवा गर्न सकिने बताउँछन् ।

Published : Tuesday, 2021 July 20, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया