कांग्रेसको १४औँ महाधिवेशनमा डिजिटल भोटिङ गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनमा डिजिटल भोटिङको प्रविधि सुनिश्चित गरेको छ ।

असार २४ र २५ गते भौतिक र भर्चुअल दुबै प्रक्रियाबाट सम्पन्न नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठकले पार्टीको १४औं महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्ने लगायतका निर्णय गरेको कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरेर जनाएको छ ।

प्रविधि मैत्री अभियानका क्रममा पार्टीको वेबसाईटलाई आधुनिकीकरण र कृयाशील सदस्यताको अभिलेखीकरण लगायतका काम गरिएको छ ।

कोरोना महामारी न्यून भएर पार्टी महाधिवेशन भौतिक रुपमा आयोजना गर्न सकियो भने कांग्रेसले डिजिटल भोटिङको आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गर्ने जनाएको छ ।

केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट शुरु गर्नु नपर्ने गरि डिजिटल भोटिङ विकास गरिएको छ ।

प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास कांग्रेसले लिएको छ ।

७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधिमार्फत १४औं महाधिवेशनमा केन्द्र र ७ प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको कांग्रेसले जनाएको छ ।

१४औं महाधिवेशनको प्रचारलाई विगतभन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने निर्णय भएको छ ।

Published : Tuesday, 2021 July 20, 3:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया