एमालेका नेता एवम् पोखराका प्रमुखलाई ढुकुटीको दश लाख उपचार खर्च

पोखरा । एमालेका नेता समेत रहेका पोखरा महानगरपालिकाले प्रमुख मानबहादुर जिसीको उपचार खर्च ब्यहोर्ने निर्णय गरेको छ ।

कार्यपालिकाको बैठकले प्रमुख जिसीको उपचारका लागि दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा मंगलबार बिहान बसेको बैठकले मस्तिष्कघात भई काठमाडौंमा उपचाररत जिसीलाई प्रकोप व्यवस्थापन कोषबाट दश लाख खर्च लेख्ने निर्णय भएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

काठमाडौंको न्यूरो अस्पतालमा उपचाररत जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पोखरा महानगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरूमा स्वास्थ्य लाभको पुस्तिका राख्ने निर्णय समेत कार्यपालिकाले गरेको छ ।

एमालेबाट निर्वाचित प्रमुख जिसीलाई महानगरपालिकाले उपचार खर्च उपलब्ध गराउने निर्णय गरेपछि आलोचना भएको छ ।

यसअघि, एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई समेत खड्गप्रसाद ओली नेतृत्वको निवर्तमान सरकारले उपचार खर्च दिने निर्णय गरेको थियो । ओलीको स्वास्थ्य उपचारको खर्च पनि राज्यको ढुकुटीबाट हुँदै आएको छ ।

Published : Tuesday, 2021 July 20, 3:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया