कांग्रेस नेता एवम् गुल्मीदरवारका अध्यक्ष थापाको निधन, देउवाद्वारा शोक व्यक्त

काठमाडौं । नेपाली कांग्रेस गुल्मीका नेता एवम् गुल्मीदरवार गाउँपालिका अध्यक्ष ७४ वर्षीय अशोककुमार थापाको निधन भएको छ ।

थापाको असार ३० गते ललितपुरमा उपचारका क्रममा निधन भएको कांग्रेसले जनाएको छ । शहीद गंगाबहादुर थापाका माइला छोरा स्व.थापा विगत केही समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित थिए ।

कांग्रेसद्वारा सञ्चालित सशस्त्र संघर्षमा समेत थापाको सक्रिय सहभागिता रहेको थियो । स्व.थापा गुल्मी जिल्ला विकास समितिको इलाका सदस्य हुँदै २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । स्व.थापाका श्रीमती र चार छोरा छन् ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसका अग्रज व्यक्तित्व एवं गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु’, देउवाले भनेका छन् ।

‘स्व.थापाले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो’, देउवाले भनेका छन् ।

‘उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ’, देउवाले भने, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

Published : Sunday, 2021 July 18, 4:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया