लामो समय असफल रहेको कांग्रेसलाई यसरी सफल बनाऔँ

सन्तोष रेग्मी

अबको केही महिना नेपाली कांग्रेसको आन्तरिक राजनीति निकै गतिशील रहनेछ । अखबारका पृष्ठ र सामाजिक सञ्जालका न्युजफिड मात्रै हैन टोल चौतारो पनि कांग्रेसमय गफगाफ बर्खे झरीमा पनि रवाफिलो बन्नेछ ।

भदौमा हुन गइरहेको कांग्रेसको १४औं महाधिवेशनको सरगर्मीसंगै कांग्रेस र गैरकांग्रेस आम नागरिकको ध्यान कांग्रेसको आन्तरिक राजनीतिले खिचिकसेको छ । किन भने यो देशकै सबैभन्दा ठूलो मध्यको र पुरानो पार्टी हो । राजनीतिक र संवैधानिक बाध्यताले पनि निर्विकल्प रुपमा कांग्रेसको १४औं महाधिवेशन भदौमा हुने पक्क–पक्की छ ।

यसैको तयारी स्वरुप नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्य छानबिन समितिले असार ६ सम्मको दावी विरोधको म्यादसहित ३१ जेठमा थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ । पार्टी विधानअनुसार गत फागुन मै सप्पन्न हुनुपर्ने महाधिवेशन कोभिड–१९, देश असामान्य राजनीति स्थिति, क्रियाशील सदस्यता वितरणको विवाद, जस्ता आन्तरिक एवम् वाह्य समस्याका कारणले गर्न असमर्थ रह्यो । परिणामस्वरूप संविधानले दिएको सुविधाको उपयोग गर्दै आगामी भदौमा गर्न लागेको हो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहँदै नेतृत्व गरेको र गरिरहेको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी हो, नेपाली कांग्रेस । जहानियाँ राणा शासनदेखि निरंकुश राजतन्त्रलाई जनतासामु घुँडा टेकाउन कांग्रेस खेलेको भूमिकालाई इतिहासले नै गौरवका साथ मूल्यांकन गरेको छ ।

नेपालको राजनीतिक इतिहासमा भए गरेका सम्पूर्ण ठूल्ठूला राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ । यसको बेग्लै इतिहास र गौरव छ, जसको प्रशंसा र विस्तार जरुरी छैन सबैलाई जानकारी नै छ ।

यस्तो गौरवमय इतिहासको लामो यात्रा गरेको नेपाल कांग्रेस पछिल्लो समय भने निकै कमजोर, रुग्ण नेतृत्वका सन्दर्भमा भूमिकाहीन अवस्थामा पुगेको अनुभूति आम कार्याकर्ता र नागरिकले गरेका छन् । पछिल्ला केही दिनलाई छोडेर ७४ सालको आमनिर्वाचनपछिका दिन कांग्रेसका लागि राजनीति रुपमा खासै सम्झनलायक रहेन्न । चाहे आन्तरिक राजनीतिक गतिविधिका सन्दर्भमा होस् या देशको मूल राजनीतिमा खेलेको भूमिकाका सन्दर्भमा दुबैमा झण्डै असफल प्रमाणित भयो, कांग्रेस ।

अब यसैबीच राजनीतिक र प्राकृतिक प्रतिकुलताबीच नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन हुन लागि रहेको छ आगामी भदैमा । देश संघीय स्वरुपमा गैसकेको सन्दर्भमा पहिलो पल्ट संघीय ढाँचामा अधिवेशन सप्पन्न गर्न गहिरहेको कांग्रेसलाई विवादरहित र सहज वातावरणमा अधिवेशन सम्पन्न गर्न त्यति सजिलो धेरै अप्ठ्याराहरूको सामना गर्नुपर्ने निश्चित छ । कोभिड १९ को महामारीले झन् अरु प्रतिकुलता थपिदिएको छ । धेरै विवाद र मतभेदहरू यथास्थिति मै छन् ।

यसैबीच धेरै नेताहरूले टुंगो लगाएको भनिएको समस्याको जड मानिएको महाधिवेशन तथा संगठनको प्रस्थान विन्दु क्रियाशील सदस्यता वितरण एवम् नवीकरणको समस्या वरीपरी रहेर केही सम्बोधन हुनै पर्ने विषयको चर्चा गर्न गइरहेको छु यस लेखमार्फत । धेरैलाई अवगत नै होला यहि समस्याका कारण कांग्रेसले आफ्ना अघिल्ला १२औँ र १३औं लगायतका महाधिवेशनहरू समय मै सम्पन्न गर्न सकेको थिएन ।

नेपाली कांग्रेसको स्थापनाकालदेखि नै प्रयोगमा आएको नेपाल कांग्रेसको सदस्य (सामान्य बोलीचालीको भाषामा साधारण सदस्य) र क्रियाशील गरी दुई प्रकारका सदस्यता प्रणाली आज पनि विद्यमान छ । सत्तरी वर्षभन्दा अगाडिदेखि प्रयोगमा आएको सदस्यता प्रणालीमा कांग्रेसले आजसम्म कुनै परिवर्तन गरेको छैन ।

नेपाली कांग्रेसको विधान २०१७ (नवौं संशोधन) बमोजिम नेपाली कांग्रेस पार्टीमा दुई किसिमका सदस्य रहने गर्छन् । पहिलो नेपाली कांग्रेसको सदस्य (साधारण सदस्य) र दोस्रो क्रियाशील सदस्य । खासगरी नेपाली कांग्रेसको सदस्य (साधारण सदस्य) बन्न अर्थात सदस्यता प्राप्त गर्न १८ वर्ष पूरा भएको र अन्य दलको सदस्य नरहेको इच्छुक व्यक्तिले प्राप्त गर्न सक्ने सहितका सामान्य प्रावधानहरू विधानमा व्यवस्था छ ।

क्रियाशील सदस्यका सन्दर्भमा भने केही विशिष्ट प्रावधान राखिएको छ । पार्टी विधानको धारा ४ को उपधारा २ र ३ बमोजिम साधारण सदस्यता प्राप्त गरेको १ वर्ष पुगेको, पार्टीको उदेश्य, नीति, कार्यक्रमलाई निरन्तर सहयोग पुर्‍याउँदै आएको, सक्रियतापूर्वक पार्टीका गतिविधिमा संलग्न रहेको लगायत दश वटा विभिन्न योग्यता, मापदण्डहरूलाई आधार मानेको छ ।

नेपाली कांग्रेसमा क्रियाशील सदस्यतालाई निकै महत्वका साथ हेरिएको पाइन्छन् । किन भने कांग्रेसको तहगत संरचना निर्माणको मुख्य आधार नै यहि हो । क्रियाशील नरहेको व्यक्ति टोलको कार्य समिति बाहेक अन्य कुनै तहमा सदस्य हुन सक्दैन । अझ स्पष्टसँग भन्ने हो भने सबैभन्दा तल्लोमध्यको इकाई गाउँपालिका र नगरपालिकाका वडा अधिवेशन पनि क्रियाशील सदस्यबाट मात्र हुने गर्छ । गाउँ, नगर जिल्ला प्रदेशदेखि केन्द्रसम्म नै क्रियाशील सदस्यता प्राप्त नगरेको सदस्य कार्याकर्ताको खास अस्तित्वलाई नेपाली कांग्रेसको विधानले नै अविस्कार गरेको छ ।

यति मात्र हैन क्रियाशील सदस्यताको अवधिको पनि उत्तिकै महत्व दिएको छ । विभिन्न तहका कार्यकारी पदको उम्मेदवारीका लागि क्रियाशील सदस्यताको समयासी तोकिएको छ । जस्तै वडा सभापति उठनका लागि एक वर्ष पहिले क्रियाशील सदस्य हुनु पर्‍यो । गाउँपालिका र नगरपालिका सभापतिमा उम्मेदवार बन्न २ वर्ष, केन्द्रको सभापतिमा उम्मेदवार बन्न क्रियाशील सदस्याता ग्रहण गरेको पन्ध्र वर्ष पुग्नु पर्‍यो ।

यसरी कांग्रेसमा क्रियाशील सदस्यलाई तुलनात्मक रुपमा साधारण सदस्यभन्दा निकै उचाइँमा राखिएको पाइन्छ जुन न्यायसंगत लाग्दैन । एउटै पार्टीका कार्याकर्तामा यो किसिमको विभेद । साधारण सदस्यलाई त्यति महत्व दिएको पाइँदैन । आफ्नै पार्टीका सदस्यबीच नेपाली कांग्रेसले जुन विभेदकारी नीति अंगालेको छ त्यो हो ।

यसो हुनुका पछाडि कांग्रेसले विगतदेखि नै नीतिगत एवम् कार्यगत कमजोरी गर्दै आएको छ । जसमध्य केही कारणहरूको सामान्य चर्चा गरौं ।

पहिलो : पार्टी विधानले अंगिकार गरेको अवैज्ञानिक र विभेदकारी नीति

कांग्रेसको विधान अनुसार अहिले कुनै व्यक्ति (आफ्नो जन्मथलोभन्दा टाढा रहेको)ले पार्टीको सदस्यता लिन इच्छुक रह्यो भने उसले आफ्नो कर्मभूमि छोडेर मतदाता नामावलीमा नाम भएको कहाँ छ उहिँ पुग्नु पर्ने बाध्यता छ । जुन आजको समयमा एकदमै अवैज्ञानिक र असान्दर्भिक मात्रै अन्यायपूर्ण पनि लाग्छ । प्रबिधिको प्रयोग गरेर उसको वैयक्तिक विवरण चेक गरेर जहाँको तेहि सदस्यता किन नदिने ? पार्टीको सिद्धान्त र कर्म मन परेर सदस्यता लिन खोज्नेको व्यक्तिको अधिक शुद्धता जाच्न कांग्रेस किन चाहान्छ कुरा बुझन कठिन छ । अर्को भनेको विभेदकारी कुरा भनेको दुई किसिमको सदस्यता प्रणाली हो । जसको चर्चा मैलेमाथि गरिसकेको छु । यस किसिमको विभेदकारी नीतिलाई संशोधन गर्न आसन्न महाधिवेशनमा कांग्रेस कार्याकर्ताले आवाज उठाउन खुट्टा कमाउनु हुँदैन । नेताहरूले बडो बुद्धिमताको प्रयोग गर्नुपर्ने हुन्छ । किन भने संगठनको आगमन विन्दु मै यस्तो कठिन र अप्ठ्यारो व्यवस्थाले आगन्तुक कार्याकर्तामा उत्साह र उर्जा भर्न सक्दैन । जसले पार्टीलाई नै अघात पुग्ने हो ।

दोस्रो : सदस्यतामा अस्वाभाविक सिन्डिकेट

कांग्रेस लोकतान्त्रिक पार्टीले आफ्नो सदस्यता सधैंभरि आम नागरिकका लागि खुला राख्नु पर्ने हो । प्रायः लोकतान्त्रिक पार्टीहरूमा संसारभरि एउटै प्रकारको सदस्यता प्रणाली प्रचलनमा छ । देशमा विद्यमान कुनै पनि पार्टीको सदस्यता प्राप्त गर्ने नागरिकको अधिकार हो भन्ने कुरा कम्तिमा कांग्रेस जस्तो आफूलाई लोकतन्त्रको पहरेदार भन्ने पार्टीले स्वीकार गर्न जरुरी छ । जुन कुराप्रति कांग्रेस निकै संकुचित छ । १४औं महाधिवेशनमा क्रियाशील सदस्यको संख्या सतप्रतिशत वृद्धि गर्ने निर्णयले केही उदारदेखि पनि अन्य धेरै प्राविधिक समस्याको समाधान नगरी गरिएको यो निर्णय केवल देखाउने दाँत मात्रै भएको छ भन्ने अनुमान लगाउन कठिन छैन ।

कांग्रेसको सदस्यतालाई सधैंभरि सबैका लागि पार्टीका सबै तहमा खुला गर्ने एवम् अनलाइनबाट पनि सदस्यता लिन पाउने व्यवस्था गर्ने हो भने पार्टी सदस्यता व्यापक रूपमा बढ्ने नै छ । साथमा विधिपूर्वक अधिवेशन समयमा सम्पन्न गर्नसमेत मद्दत पुग्नेछ । कांग्रेस साँच्चै नै अनुकरणीय प्रजातान्त्रिक पार्टी बन्नेछ । अरू पार्टीहरूलाई पनि यो उदाहरणले लोकतान्त्रिक पार्टीका रूपमा रूपान्तरण हुन सहयोग पुग्नेछ ।

तेस्रो : स्थानीय नेताको अस्वभाविक र अलोकतान्त्रिक चलखेल

संगठन प्रवेशको प्रारम्भिक चरण मानिने सदस्यता वितरण को प्रारम्भिक अधिकार स्थानीयस्तरको वडा समितिलाई छ । सदस्यता वितरणमा स्थानीयस्तर ठूला मानिने र पदाधिकारीको भूमिकामा आसिन नेताहरूको निकै चलखेल हुने गरेको देखिन्छ, यो तितो यथार्थ हो । आफू र आफ्नो गुट उपगुटमा रहेका माथिका नेतालाई अनुकूल हुने गरि आफ्ना आसेपासेहरूलाई सदस्यता वितरण गर्ने गरेको पाइन्छ । योग्य र संगठन प्रति निष्ठावान कर्मठ, जिम्मेवार, इमानदार मान्छेलाईभन्दा पनि भोलि आफूलाई गाउँदेखि क्षेत्र, जिल्ला पुर्‍याउने बाटो सहज बनाउन र आफ्ना नेतालाई पनि सोही बमोजिम केन्द्रमा जाने बाटो अनुकूल बनाउन सहयोग पु¥याउने गरि सदस्यता वितरणमा व्यापक र विकृत चलखेल हुने गर्छ । जसको प्रमाणका लागि अहिले कांग्रेसको वेबसाइटमा प्रकाशित क्रियाशील सदस्यहरूको नामावली हेरेरै प्रष्ट बुझन सकिन्छ । हुन त दावी विरोध का लागि अझ केही समय रहे पनि यस्ता सामान्य कर्मकाण्डले यो विकराललाई निराकरण गर्न सक्दैन ।

अतः कांग्रेसको संगठन प्रवेशको पहिलो खुट्किलो मानिएको यो सदस्यता वितरणमा कांग्रेसले केवल क्रियाशीलको संख्या बढाउने नीति लिएर औषधिमुलो गरे जस्तो गरेर पुग्दैन । यसलाई औषधिमुलोले पुग्दैन ठूलो अप्रेसनको जरुरी रहेको छ ।

त्यसका लागि साधारण र क्रियाशील सदस्य जस्तो विभेद्कारी नीतिलाई हटाएर एकै किसिमको सदस्य प्रणालीमा जाने खुला सदस्य प्रणालीमा जानु पर्छ । सदस्यता प्रवेशलाई १२ महिना नै खुला राख्ने पर्छ । इच्छुकले देश विदेश जहाँबाट पनि सहज रुपमा सदस्यता प्राप्त गर्न सक्ने अवस्थाको निर्माण गर्नुपर्छ । पार्टी पदाधिकारी (विशेष गरि तल्लो तहका)मा उम्मेदवार हुन व्यवस्था भएको क्रियाशील सदस्यको अवधीको बारेमा पुनःविचार गर्नुपर्छ । यसलाई संशोधन गर्नुपर्छ । कम्युनिष्टहरू अहिले टुक्राटुक्राको अवस्थामा रहेपनि फेरि आगामी आमनिर्वाचनमा जनता झुक्याउन वामएकताको नारा लिएर जान सक्छन्, सोझा जनता फेरि झुकिन सक्छन् । पराजित गर्न पनि कांग्रेसले झन्डै ४०/४२ लाख मत ल्याउनुपर्छ । त्यसका लागि पहिले कार्याकर्ता तयार गर्नुपर्‍यो । त्यो भनेकै समान सदस्यता वितरण हो ।

अन्यथा यी कुराहरूलाई कांग्रेसले मनन गरेन भने कांग्रेसले इतिहासमा आफ्ना कार्याकर्ता मात्र हैन ठूलो मत र उपलब्धि गुमाउन र चुकाउन पर्छ ।

सन्तोष रेग्मी

बाणगंगा नगरपालिका– ११ कपिलवस्तु

[email protected]

(लेखक नेपाली कांग्रेसका युवा नेता हुन्)

Published : Wednesday, 2021 June 16, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया