दिल्लीका केजरीवालले जस्तै कांग्रेस नेता बस्नेत अस्पताल बनाउँदै, निःशुल्क उपचार गर्ने

बाह्रबीसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा सिन्धुपाल्चोक जिल्लामा कोभिड–१९ रोग उपचार केन्द्र स्थापना हुने भएको छ ।

केन्द्र स्थापनाका लागि बस्नेतले सिन्धुपाल्चोकमा शुक्रबार लाखौँको सामग्रीहरू ल्याएका छन् ।

नेपाली कांग्रेस खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेतले कोरोनाभाइरसको संक्रमणबाट बचाउन उपचार केन्द्र बनाउन लागेका हुन् ।

साथीभाईहरूको सहयोगमा नेता बस्नेतले एक महिनाभित्र सिन्धुपाल्चोक जिल्लामा कम्तिमा १०० बेडको अक्सिजनसहितको उपचार केन्द्र खोल्ने घोषणा गरे अनुसार काम अगाडि बढाएका छन् ।

बस्नेतले शुक्रबार ४० लिटरका १ सय थान अक्सिजन सिलिन्डर, १ सय थान हस्पिटल बेड, २ लाख सर्जिकल मास्क लगायत अन्य स्वास्थ्य सामग्री सिन्धुपाल्चोक ल्याएका छन् ।

उपचार केन्द्रको लागि काठमाडौंमा रहेको हेम्स अस्पतालले प्राविधिक सहयोग गर्ने हेम्स अस्पतालका प्रमुख रामशरण भण्डारीले प्रतिबद्धता जनाएका छन् ।

पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्वास्थ्य संस्था र अस्पतालहरूमा आपतकालीन् सेवा सञ्चालन गर्नुको साथै बाह्रबिसेको अरनिको कलेज, सदाबहार अस्पताल खाडिचौर, चौतारा अस्पताल, मेलम्ची अस्पताल, नवलपुर अस्पताल, जलवीरे अस्पताल, नेपाल–चीनको सीमा क्षेत्रमा पर्ने चाकु बजार लगायत विभिन्न ठाउँबाट हालमा अस्थायी रुपमा आवश्यकतानुसार अक्सिजन सिलिन्डर र बेडहरू राखेर सेवा सञ्चालन गर्ने बताएका छन् ।

अस्थायी सेवाको लागि उपयुक्त स्थल नभएको अवस्थामा उच्चस्तरको टेण्टमा राखेर भए पनि उपचार गरिने कांग्रेस नेता बस्नेतले बताएका छन् ।

दीर्घकालीन एवम् स्थाई रुपमा भने सुनकोशी गाउँपालिका– ६ मा रहेको थुम्पाखर खेल मैदानमा कोभिड लगायत अन्य सरुवा रोग उपचार केन्द्र खोलिनेछ ।

नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा अक्सिजन प्लान्टसहितको दीर्घकालीन योजना अगाडि बढाउने बताएका छन् ।

अक्सिजन प्लान्ट निर्माणमा सुनकोशी गाउँपालिका, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड, क्षमादेवी ग्रुपका राजकुमार बस्नेत र नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय सदस्य पासाङ नोर्बु लामा लगायत अन्य विभिन्न क्षेत्रको लगानी रहने गरि बजेट व्यवस्थापन भइसकेको छ ।

अक्सिजन प्लान्टका लागि आवश्यक मेसिन र सामग्रीहरू अर्डर गरिएको छ । सामान आउनेवित्तिकै अक्सिजन प्लान्टबाट अक्सिजन उपलब्ध हुने कांग्रेस नेता बस्नेतले बताए ।

नेता बस्नेतले चौबीसै घण्टा एम्बुलेन्सको रुपमा ५ वटा गाडीहरू तयारी अवस्थामा राखेर कोरोना संक्रमितहरूको उपचार हुने बताए ।

कोरोनाको दोस्रो लहरबाट समस्यामा परेका जनतालाई स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गर्दै आएका कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले जनताका लागि आफू जहिले पनि अग्रपंक्तिमा रहेर सेवा गर्ने बताएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका क्षेत्रीय सभापति एवम् युवा नेता बालकृष्ण बस्नेतले समस्यामा परेका अति विपन्न परिवार, मजदुरहरूलाई खाद्यान्न वितरण गरेको बताएका छन् ।

सुनकोशी गाउँपालिका प्रमुख श्रवणकुमार जिसी, सुनकोशी गाउँपालिका– ६ का वडाध्यक्ष रामकुमार थापा, महासमिति सदस्य हरिशरण श्रेष्ठ लगायत युवा तरुण नेता कार्यकर्ताहरूको सहभागिता र सहयोग रहेको थियो ।

एमालेका अध्यक्ष समेत रहेका कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली प्रधानमन्त्री पद बचाउन काठमाडौंमा अनेकौँ जालझेल र मारामारी गरिरहेका बेला कांग्रेस केन्द्रीय सदस्य बस्नेत जनताको जीवन बचाउन कोरोनाका संक्रमितको उपचारका लागि अस्पताल बनाउन आवश्यक सामग्री बोकेर सिन्धुपाल्चोक आएका छन् ।

भारतको नयाँदिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना संक्रमितको निःशुल्क उपचारका लागि दुई हप्तामा १५ सय शय्याको आईसीयुसहितको अस्पताल बनाएका छन् । खुला मैदानमा केजरीवालले बनाएको अस्पतालको विश्वभरि चर्चा र प्रशंसा छ ।

कांग्रेस नेता बस्नेतले पनि आफ्नो गृहजिल्ला सिन्धुपाल्चोकमा कोरोनाका संक्रमितको उपचारका लागि अक्सिजनसहितको उपचार केन्द्र बनाउन लागेका छन् ।

Published : Friday, 2021 May 21, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया