एमालेकै साथ पाएर जितेका मनाङेले ओली र एमालेको साथ छाडे, कांग्रेसतिर झुकाव ! कम्युनिस्टलाई पत्याएनन्

पोखरा । गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि कम्युनिस्ट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको साथ छोड्ने संकेत गरेका छन् ।

मनाङेले राष्ट्रिय जनमोर्चाले जे निर्णय गर्छ त्यही निर्णयलाई आफूले साथ दिने बताएका छन् । उनले अविश्वासको प्रस्तावमा के गर्ने भनेर कुनै पनि निर्णय नगरेको पोखराका पत्रकारहरूलाई बताएका छन् ।

उनले भनेका छन्, ‘अहिले नै के गर्ने भन्ने माइन्ड मेकअप गर्‍या छैन । राष्ट्रिय जनमोर्चाले जे गर्छ मैले पनि गर्ने त्यही हो ।’ जनमोर्चाले कांग्रेसलाई साथ दिने आश्वासन दिएको छ । मनाङेले पनि कांग्रेसलाई साथ दिने संकेत गरेका छन् ।

स्वतन्त्र सांसद मनाङेलाई ०७६ सालको असार ११ मा मुख्यमन्त्री गुरुङको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका थिए ।

पार्टी प्रवेशको जानकारी प्रदेश सभा सचिवालयमा जानकारी नदिएका कारण कानूनी रुपमा मनाङे स्वतन्त्र प्रदेश सांसदको हैसियतमा छन् ।

राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावलाई समर्थन गर्ने बताउँदै आएको छ ।

सांसद हुनुभन्दा पहिला मनाङे विभिन्न अपराधका घटनामा पक्राउ परेका थिए । उनलाई गुण्डा नाइके भनेर समेत आरोप लाग्दै आएको थियो ।

तर, मनाङेले आफूलाई प्रहरीले फसाएर दुःख दिएको भनेर आफ्ना अन्तर्वार्ताहरूमा दाबी गर्दै आएका छन् ।

जनमोर्चासँग तीन जना प्रदेश सांसद छन् । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अविश्वास प्रस्तावलाई साथ दिने बताइसकेका छन् ।

जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मत दिने भएपछि कम्युनिस्ट मुख्यमन्त्री गुरुङ अल्पमतमा छन् ।

अहिलेसम्म सत्तापक्षीय दीर्घामा बस्दै आएका मनाङेले सोमबार आफूलाई अलग्गै ठाउँ माग्दै गण्डकी प्रदेश सभा सचिवालयमा निवेदनसमेत दर्ता गरिसकेका छन् ।

मनाङेले मनाङ जिल्लाबाट एमालेको समर्थनमा स्वतन्त्र चुनाव जितेका थिए ।

सोमबारदेखि शुरु भएको विशेष अधिवेशनमा पनि मनाङे सत्तापक्षीय दीर्घामा बसेका छन् ।

सत्तापक्षीय टिम छुटिइसकेकाले आफू पनि छुट्टै बस्न पाउनुपर्ने माग मनाङेले गरेका छन् ।

‘पहिले एमाले थिएन । अहिले सबै आ–आफ्नै गुटमा बस्न थालेपछि मैले पनि त स्वतन्त्र ठाउँ पाउनुपर्‍यो । अलग्गै बस्नुपर्‍यो’, प्रदेश सांसद मनाङेले भनेका छन् ।

गण्डकी प्रदेशमा ६० सिट रहेको छ । मुख्यमन्त्री गुरुङलाई सरकार बचाउन ३१ मत चाहिन्छ ।

गण्डकी प्रदेशमा एमालेसँग २७ सांसद छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग १५ सिट रहेको छ ।

माओवादी केन्द्रसँग सभामुखसहित १२, जनता समाजवादी पपार्टी (जसपा)सँग २ र जनमोर्चासँग ३ सांसद छन् । १ जना स्वतन्त्र सांसद छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ ।

कांग्रेससहित माओवादी केन्द्र र जसपाका २८ प्रदेश सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

वैशाख १५ गते मतदान गरेर गुरुङ नेतृत्वको प्रदेश सरकारको छिनोफानो लाग्नेछ । अहिलेसम्म कम्युनिस्ट मुख्यमन्त्री गुरुङको विपक्षमा गण्डकी प्रदेशमा बहुमत देखिएको छ । उथलपुथल भएन भने वैशाख १५ गते कांग्रेसले गण्डकी प्रदेशमा मुख्यमन्त्रीसहित सरकार बनाउनेछ ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले संविधानको व्यवस्था विपरित प्रतिनिधि सभा भङ्ग गरेपछि एमाले बाहेकका दलहरू मिलेर ओली र उनको दल एमालेलाई सबक सिकाउन थालेका छन् ।

ओलीलाई कर्णाली प्रदेशमा एमालेकै सांसदहरूले फ्लोर क्रस गरेर सबक सिकाइ सकेका छन् । ओली चौतर्फी रुपमा एक्लिदै गएका छन् ।

Published : Tuesday, 2021 April 27, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया