ओलीको कुर्सी बचाउन भण्डारीलाई खसखस

एमालेभित्रको विवाद मत्थर हुने अवस्थामा छैन । प्रधानमन्त्री समेत रहेका केपी ओलीले विरोधी नेताहरूलाई कारबाहीको डण्डा चलाएपछि एमाले झन् संकटतर्फ फस्दै गएको छ । माधव नेपाल समूहले देशभरि समानान्तर कमिटी बनाइरहेको छ । नेपाल समूहको गतिविधिबाट ओली समूहलाई तनाब भएको छ । ओलीले नेपाल समूहका गतिविधिहरूलाई रोक्न हरप्रकारका हत्कण्डा अपनाइरहेका छन् ।

ओलीले नेपाल समूहका गतिविधिलाई रोक्न सक्ने अवस्था छैन । ओलीको पकड रहेको भनिएको काठमाडौंमै नेपाल समूहले समानान्तर कमिटी गठन गरेर ठूलो धक्का दिएको छ । काठमाडौंबाट शुरु भएको नेपाल समूहको गतिविधि वडा कमिटीसम्म पुग्ने पक्का छ । ओलीको निरंकुश शैलीको नेपाल समूहले पहिलो पटक जबरजस्त रुपमा प्रतिवाद गरेको छ । कारबाहीको प्रवाह गरेको छैन ।

ओलीसँग रहेका तर बोल्न नसक्ने नेताहरू पनि धेरै छन् । ओलीको निरंकुशताविरुद्ध बोल्न नसक्ने नेताहरू अहिलेका लागि ठीक भए पनि भविष्यमा उनीहरूको राजनीति समाप्त हुने पक्का छ । ओलीको हर्कतको खुलेर विरोध गर्नेहरूलाई बालुवाटारको बाटो बन्द भए पनि भविष्यमा उनीहरूको राजनीति उज्यालोनै हुनेछ ।

ओली अध्यक्ष र प्रधानमन्त्री रहँदासम्म एमाले भन्ने पार्टी कमजोर रहनेछ । ओलीले जसरी जनतालाई झुक्काएर एमालेलाई ठूलो पार्टी बनाए । अबका दिनमा जनता झुक्किनेवाला छैनन् । आफ्नै पार्टीका नेताहरूलाई कारबाही गर्ने ओलीप्रति जनताको विश्वास गुमेको छ । ओली निरंकुश र अधिनायकवादी चरित्रका छन् भन्ने उनका गतिविधिहरूले प्रमाणित गरेको छ ।

ओलीलाई हटाउन नेपाल समूहले जसरी गतिविधि गरेको छ अरु दुई महिना यहि रफ्तारमा काम भयो भने ओलीको पतन शुरु हुनेछ । ओलीलाई बचाउन राष्ट्रपति विद्यादेवी भण्डारीले समेत आफ्नो मर्यादा भुलेकी छिन् । उनले एमालेका नेता झलनाथ खनाललाई डल्लुमा पुगेर भेट्नु भनेको पदीय आचरणको कुरा होइन ।

यसअघि शीतल निवासमा नेताहरूलाई भेट्दै आएकी भण्डारी अब भने पदीय हैसियत भुलेर दायरा नाघेर नेताहरूको घर जान थालेकी छिन् । राष्ट्रपति भन्ने संस्था र पदको उच्च गरिमा छ । त्यो गरिमालाई भण्डारीले कायम राख्न सकेकी छैनन् । ओलीको कुर्सी हल्लिन थालेपछि भण्डारीले देखाएको राजनीतिक गतिविधिलाई कसैले पनि रुचाएका छैनन् ।

ओली र भण्डारीको अगाडि पछाडि लाग्नेले रुचाए पनि भविष्यमा भण्डारीलाई कसैले पनि विश्वास गर्नेछैनन् । एमाले भन्ने पार्टीले जसरी राष्ट्रपतिको मर्यादालाई समाप्त पारेको छ त्यसै गरी संविधानलाई पनि कुल्चिएको छ । एमाले, ओली र भण्डारीबाट मुलुक चल्न सक्दैन भन्ने कुरा क्रमशः पुष्टि हुँदै गएका छन् ।

Published : Friday, 2021 April 9, 11:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया