बागमतीमा कम्युनिस्टहरूलाई ‘फिटीफिटी’, नयाँ सरकारबारे के गर्दै छन् कांग्रेस नेता बानियाँ ? (अन्तर्वार्ता)

ईन्द्र बानियाँ, नेता, बागमती प्रदेश नेपाली कांग्रेस

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि विभाजन हुन पुगेको नेकपा अहिलेसम्म मिल्ने छाँटकाँट छैन । सर्वोच्च अदालतले संसद विघटन गर्ने ओलीको निर्णयलाई खारेज गरेपछि नेपाली कांग्रेस प्रदेश र केन्द्र सरकारको नेतृत्व गर्न तयारीका साथ बसेको छ भनेर आरोप लागेको छ । बागमती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने तयारी गरेको चर्चा छ । सोही विषयमा बागमती प्रदेश, नेपाली कांग्रेसको संसदीय दलका नेता ईन्द्र बानियाँसँग हाम्रा सहकर्मी विमल योगीद्वारा गरिएको अन्तर्वार्ताको सम्पादित अंश –

बागमती प्रदेशमा नेपाली कांग्रेसको भूमिका के हो ?

बागमती प्रदेशमा नेपाली कांग्रेसका भूमिका भनेको कसरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने ? कसरी बलियो बनाउने ? यो व्यवस्थाप्रति जनताको विश्वास जगाउने हाम्रो भूमिका त्यतातिर लक्षित र केन्द्रित छ । मैले देखेको कांग्रेसको भूमिका यही हो ।

प्रदेश सभाको बैठक सत्तापक्षले मनपरी रुपमा अनिश्चितकालको लागि स्थगित गरेको छ । यो विषयमा कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निभाउन सकेन भन्ने आरोप छ नि ?

प्रदेश सभामा प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाभित्रकै आन्तरिक किचलोको कारणले अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाका नेताहरूको बीचमा द्वन्द्व भएर अविश्वासको प्रस्ताव प्रवेश गरेको छ । अविश्वासको प्रस्तावनै प्रदेश सभामा टेबुल भएको थिएन ।

हामीले सभामुखलाई प्रमुख प्रतिपक्षको धर्म निर्वाह गरेर सभामुख निष्पक्ष हुनुपर्छ, तटस्थ हुनुपर्छ, सहयोगीको भूमिकामा हुनुपर्छ भनेर सभामुखलाई दर्ता भएको अविश्वासको प्रस्तावलाई टेबुल गर्न लगाएका छौँ । टेबुल गरेपछि त्यो विषयलाई कसरी छलफलमा अगाडि बढाउनुपर्छ भनेर कुरा गरेका छौँ । छलफल गरेर निष्कर्षमा पुर्‍याउनको लागि पहल गर्नुपर्छ ।

भोटिङ प्रक्रिया गरेर त्यसलाई छिनोफानो गर्नुपर्छ । सभामुखले एक्कासि प्रदेश सभालाई अनिश्चितकालका लागि स्थगित गर्नुभएको छ । यो कुरा दुर्भाग्य हो । सभामुखलाई भनेका छौँ । राजनीतिक सहमतिमा कार्यव्यवस्था परामर्श समितिको सक्रियता र सभामुखको पहलामा बसेको बैठकको सहमतिलाई उल्लंघन गर्ने काम भएको छ । यस्तो कार्य नगरियोस् । नेकपाभित्रको दुइटा पक्ष छ । एउटा अविश्वासको प्रस्ताव राख्ने अष्टलक्ष्मी शाक्य र शालिकराम जमकट्टेलको पक्ष । अर्को रामेश्वर फुयाँल र रामेश्वर पाण्डे यी सबै पक्ष बसेर कुरा भएका छन् ।

कसरी प्रदेश सभा चलाउने भन्ने कुरामा सहमति भएको थियो । परिस्थितिलाई हेरेका थियौँ । अविश्वासको प्रस्तावमा केही गरौँला भन्दाभन्दै एक्कासि सूचना टाँस गरेर स्थगित गरियो । सभामुखज्यूले संसदीय मर्यादा, सहमति र सल्लाहलाई दवाव पर्नुभयो । कुनै प्रेसर र दवावमा सभामुख जस्तो व्यक्ति पर्नु हुँदैन । सभामुख निष्पक्ष हुनुपर्छ । प्रदेश सभालाई चाँडै बोलाएर अविश्वासको प्रस्तावलाई निष्कर्षमा पु¥याउनुपर्छ ।

अनिस्चितकालका लागि स्थगित भएको प्रदेश सभा खोल्ने विषयमा प्रमुख विपक्षी दलको नेताको हैसियतले वार्ता, सम्वाद र पहल गर्नुभएको छ कि छैन ?

प्रदेश सभा खोल्नका लागि पनि कुराहरू भइरहेको छ । नेकपाभित्रको दुबै पक्षसँग पनि कुरा भएको छ । अविश्वासको प्रस्तावलाई एउटा ढंगले छलफल गरेर जानुपर्छ भनेका छौँ । सभामुखले माथिको परिस्थिति पनि संसद विघटनको निर्णय बदर भएर नयाँ प्रक्रियामा अगाडि बढेको छ भन्नुभएको छ । प्रतिनिधि सभाको बैठक आह्वान पनि भएको अवस्था छ । प्रतिनिधि सभाको परिस्थितिलाई हेरेर प्रदेश सभामा अविश्वासको प्रस्तावमा एउटा ढंगले चाँडो निष्कर्षमा पु¥याउनको लागि दुबै पक्षसँग छलफल गरेर फागुनको अन्तिम वा चैतको पहिलो हप्ताभित्र संसद बोलाएर टुंगो लगाउनुपर्छ ।

नेपाली कांग्रेस अविश्वासको प्रस्तावको पक्षमा छ वा विपक्षमा छ ?

कांग्रेस अहिले न अविश्वासको प्रस्तावको विपक्षमा छ । न विश्वासको पक्षमा छ । कांग्रेस लोकतन्त्र, संघीय व्यवस्था, प्रदेशको संसदलाई कसरी स्थायित्व दिने, प्रदेश भएको महशुस कसरी गराउने, यसलाई सहज रुपमा कसरी अवतरण गराउने पक्षमा छ । अविश्वासको पक्ष र विपक्षमा भन्दा नेपाली कांग्रेसको संसदीय दलको विधि र विधानले गरेको निर्णयले अन्तिम निष्कर्ष के गर्ने भन्ने कुरा उपयुक्त समय आएपछि उपयुक्त निर्णय गर्नेछौँ ।

कांग्रेसले बागमती प्रदेशमा प्रधानमन्त्री खड्गप्रसाद ओली पक्षीय मुख्यमन्त्री डोरमणि पौडेललाई भित्री रुपमा समर्थन गरेको छ भनेर आरोप लागेको छ नि ?

न हामीले डोरमणि पौडेललाई सपोर्ट गरेका छौँ । न अरुलाई सपोर्ट गरेका छौँ । कांग्रेसको पृष्ठभूमि अनुसार यसलाई समर्थन गर्ने वा उसलाई समर्थन गर्ने भन्ने होइन । नेपाली कांग्रेसको प्रदेश सभाको संसदीय दलको बैठक बसेर के गर्दा प्रदेश सभाको हित, लोकतन्त्र, संघीय गणतन्त्र बलियो बनाउने निर्णय गर्ने छौँ । कसको पक्षमा निर्णय गर्ने समय आएपछि सबै गर्नेछौँ ।

बागमती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने मौका पायो भने सरकार चलाउँछ वा चलाउँदैन ?

प्रमुख प्रतिपक्ष भनेको वेटिङ सरकार हो । नेकपाको किचलो आइसकेको छ । जनताले प्रचुर बहुमत दिएपछि उहाँहरूले सरकार चलाउन सक्नु भएन । सरकार चलाउन वेटिङ दलको हक र अधिकार नै रहन्छ । सरकार चलाउने कुरामा हामी तयार छौँ । आतुर चाहिँ होइन, हामी तयारी अवस्थामा छौँ ।

कोसँग मिलेर सरकार चलाउनु हुन्छ ?

कांग्रेसको प्रदेश सभा संसदीय दलले परामर्श गरेर निर्णय गर्छौं । संसदीय दलको नेताको हैसियतले गैरजिम्मेवार कुरा भन्न मिल्दैन । सबै साथीहरूको परामर्श लिएर उपयुक्त समयमा उपयुक्त निर्णय दिएर निष्कर्षमा पु¥याउने छौँ । भोटिङको अवस्थामा जाने र अविश्वासको प्रस्ताव पास गर्ने वा अर्को ढंगले कसरी जाने भनेर छलफल गरेरै हामी टुंग्याउँछौँ ।

बागमती प्रदेशमा कांग्रेसले प्रदेश सरकारको नेतृत्व गर्ने मौका पायो भने मुख्यमन्त्री को बन्छ ?

पार्टी सरकारमा जाने वा पार्टीले नेतृत्व गर्ने भनेपछि स्वभाविक रुपमा नेपाली कांग्रेसको विधि प्रक्रियाबाट टुंगो लाग्नेछ । प्रदेश सभाको संसदीय दलको नेताको हैसियतले नेतृत्व संसदीय दलको नेतानै मुख्यमन्त्री हुन सक्छ । मुख्यमन्त्रीको लागि संसदीय दलको नेताकै नेतृत्वमा सरकारको नेतृत्व गर्न जान सकिन्छ । त्यसमा अन्यथा कुरै छैन ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापाहरू प्रदेश सभामा अविश्वासको प्रस्तावको विपक्षमा भोट हाल्न भनेका छन् नि ?

नेता नेतृत्वले आ–आफ्नैभित्र कांग्रेसको विचारको प्रभाव भइरहन्छ । २००७ सालमा वीपी कोइरालाले सशस्त्र क्रान्ति गर्ने भन्नुभयो । सुवर्णशम्शेर राणाले राजासँग मिलेर जान भन्नुभयो । तैपनि सशस्त्र विद्रोह भयो । किशुनजीले अहिंसात्मक आन्दोलन गर्नुपर्छ भन्नुभयो । कांग्रेसभित्र त्यस बेला तीन वटा विचार थियो । संसद विघटनप्रति दुइटा विचार आएको छ । कांग्रेसले यो अलोकतान्त्रिक र असंवैधानिक गतिविधि हो भनेको थियो ।

संसद विघटनको कांग्रेसले वडा तहदेखिनै विरोध गरेको थियो । कांग्रेसले लोकतन्त्रमा विश्वास गर्छ । चुनाव पनि कांग्रेसले फेस गर्छ । चुनावबाट भाग्दैन भन्ने निर्णय कांग्रेसको केन्द्रीय कार्यसमितिबाट भएको छ । निर्वाचनमा जान तयार छौँ भनेका छौँ । प्रदेश सभाका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाले दिएको अभिव्यक्ति ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड’ बिचार आउन सक्छ । सरकारबारेमा नेपाली कांग्रेसको संसदीय दल बागमती प्रदेशले गरेको निर्णयनै अन्तिम हुन्छ ।

तपाई मुख्यमन्त्री बन्ने लाइनमा बस्नुभएको छ त्यसो भए ?

मलाईनमा होइन । मुख्यमन्त्री बन्न संख्या पुग्नु पर्‍यो । ११० मा मुख्यमन्त्री बन्न कम्तिमा पनि ५६ जना आवश्यक संख्या हुन्छ । नेकपाभित्रको ४५ जनाको अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव पास हुनको लागि संख्या पुग्नुपर्छ । अविश्वासको प्रस्ताव पास भयो भने मात्रै सरकार वा मुख्यमन्त्री, मन्त्रीका कुरा हुन्छन् । अहिल्यै खुट्टा उचाल्ने कुरा छैन ।

तपाईहरू मुख्यमन्त्री डोरमणि पौडेलसँग मिलेर सरकारमा जानु हुन्छ ?

हामी कोसँग जाने भन्ने कुरा प्राथमिकता होइन । संख्या पुर्‍याउनको लागि पनि उहाँहरू एउटासँग मिल्नैपर्छ । एकातिर ३५ छ । अर्कोतिर ४५ छ । कांग्रेस २२ छ । नेपाली कांग्रेसको साथ भयो भने मात्रै सरकार बन्छ । कांग्रेस कता लाग्ने कुरा कांग्रेसको संसदीय दलले अन्तिम निर्णय गरेपछि हुन्छ । जे निर्णय हुन्छ त्यो बाटोमा कांग्रेस अगाडि बढ्छ ।

तपाई मुख्यमन्त्री बन्ने तयारीमा हुनुन्छ । उता, प्रतिनिधि सभाका लागि मंसिर वा पुसमा चुनाव हुने चर्चा चलिरहेको छ । त्यस बेला तपाई प्रदेशमा बस्नु हुन्छ वा केन्द्रको राजनीति गर्नु हुन्छ ? यदि प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने भयो भने तपाईले प्रदेश सभाबाट राजीनामा दिनु हुन्छ वा दिनु हुँदैन ?

निर्वाचनको तिथिमिति तोकियो भने प्रदेशको राजनीतिक अवस्थालाई हेरेर नेपाली कांग्रेस मकवानपुर र सिंगो बागमती प्रदेशलाई हेर्दा मेरो आवश्यक्ता जहाँ हुन्छ त्यहाँ सरसल्लाह गरेर अगाडि बढ्नेछु । समयले जे माग्छ कांग्रेसको निर्णय त्यही आउँछ । प्रदेशमा बसेर काम गर्ने वा संघीय संसदमा लड्ने मैले तय गर्ने कुरा होइन । अहिलेनै त्यो विषयमा प्वाक्क बोल्नु उपयुक्त नहोला ।

Published : Thursday, 2021 March 4, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया