कांग्रेसको खुट्टामा राख्दा पनि नसुहाउने धुन्दुकारी कम्युनिस्टहरू

सम्पादकीय

अहिले आन्दोलनको मौसम चलेको छ । घर बाहिर निस्कनु पर्‍यो भने सार्वजनिक सवारी साधन नपाइने हो कि भन्ने चिन्ता हुन थालेको छ । निजी सवारी साधन भएकाहरूलाई पनि सडक जाम भएर तोकिएको समयमा गन्तव्यमा पुग्न सकिन्न कि भन्ने पीडा छ । अझ काठमाडौं उपत्यकामा दैनिक सरह आन्दोलन हुने गरेका छन् ।

पुष्पकमल दाहाल–माधव नेपाल समूहको नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, कथित नागरिक समाज लगायत कुनैन कुनै समूह दैनिक रुपमा सडकमा देखिएका छन् । ती प्रदर्शनले सर्वसाधारणलाई समस्या बनाइरहेको छ । कोरोनाको जोखिम पनि उत्तिकै छ । सडकमा आन्दोलनका लागि आउने मान्छेहरू कुरा बुझेर आएका हुन् वा नबुझेर आएका हुन् केही भनिएको छैन ।

प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेकपाले समेत बडेमानका प्रदर्शनहरू गर्दै आएको छ । काठमाडौं उपत्यका बाहिर ठूला–ठूला कार्यक्रम गरेको ओली समूहले काठमाडौंमा पनि ठूलो आमसभा गर्दैछ । दाहाल–नेपाल समूहले पनि काठमाडौं उपत्यका बाहिर पनि ठूला कार्यक्रमहरू गरिरहेको छ । काठमाडौं उपत्यकामा पनि कार्यक्रमहरू गरिरहेको छ ।

नेपाली कांग्रेसले पनि जबरजस्त कार्यक्रमहरू गरिरहेको छ । कथित नागरिक समाज बाहेक राजनीतिक दलका नाममा भएका आन्दोलनहरूमा मान्छेको उपस्थिति देखिएको छ । जसपाको आन्दोलनमा पनि मान्छेहरू आएका छन् ।

यसरी मान्छेहरू आन्दोलनमा सहभागी हुनु भनेको नेकपा र ओली नेतृत्वको सरकारबाट दिक्क भएर जनता सडकमा आएका हुन् । उनीहरूले बिकल्प खोजेका छन् । नेकपाबाट देशलाई मुक्त बनाउन खोजेका छन् ।

नेकपालाई दुईतिहाइ बहुमत दिँदा पनि सहज रुपमा सरकार चलाउन सकेनन् । समृति र परिवर्तनको नारा दिएर बहुमत ल्याएका पूर्वएमाले र पूर्वमाओवादीहरू विभाजित बनेका छन् ।

उनीहरूलाई एकले अर्कालाई गाली गर्न भ्याइनभ्याइ छ । नेताहरू सार्वजनिक स्थलमा उभिएर एकले अर्कालाई तल्लोस्तरको गाली गलौज गरेका छन् । उनीहरूलाई जनताले के चाहन्छन् भन्ने थाहा छैन । नेताहरूले आफ्नो दायित्व भुल्नु हुँदैन ।

Published : Thursday, 2021 February 4, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया