७२ घण्टापछि फुत्किने भयो ओलीको पद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले स्पष्टीकरण सोधेका छन् ।

पार्टी हित विपरित कार्य गरेको भन्दै प्रचण्ड–माधव समूहले ओलीसँग सोमबार स्पष्टीकरण सोधेको कार्यालय सचिव श्रीराम ढकालले बताएका छन् ।

प्रचण्ड–माधव समूहको पत्र बोकेर सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र पेरिसडाँडा केन्द्रीय कार्यालयका सचिव तथा केन्द्रीय सदस्य श्रीराम ढकाल बालुवाटार गएका थिए । उनीहरूले बालुवाटारको ३ नम्बर गेटमा ओलीसँग स्पष्टीकरण सोधिएको पत्र थमाएर हिँडेका छन् ।

‘पार्टी विरोधी गतिविधि गरिरहनु भएका तपाईंलाई पार्टीको सदस्यताबाट किन निष्काशन नगर्ने ?’, भनेर स्पष्टीकरण पत्रमा उल्लेख छ ।

प्रचण्ड–माधव समूहको माघ २ गते बसेको स्थायी कमिटी बैठकले ओली र महासचिव विष्णु पौडेललाई कारबाहीका लागि स्ष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रचण्ड–माधव समूहले ओलीलाई तीन दिन अर्थात ७२ घण्टाभित्र स्पष्टीकरण दिन भनेका छन् ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओलीले यसअघि नै प्रचण्ड–माधव समूह बैठक छाडेर हिँडेको भन्दै आधिकारिक नेकपा आफूसँगै रहेको बताउँदै आएका छन् । ओलीले शरीरलाई पुच्छरले हल्लाएको भन्दै प्रचण्ड–माधवको आलोचना गर्दै आएका छन् ।

ओलीले प्रचण्ड–माधव समूहको स्पष्टीकरणको जवाफ दिने सम्भावना निकै कम छ । ओलीलाई अध्यक्ष समेत नरहने गरी पार्टीबाट हटाउन स्पष्टीकरणको नाटक गरेको आरोप छ ।

ओलीले स्पष्टीकरण दिने सम्भावना पनि निकै कम छ । यस्तो अवस्थामा प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाउने सम्भावना छ । प्रचण्ड–माधव समूहले ओलीको साधारण सदस्यता समेत खोस्ने तयारी गरेको एक नेताले बताएका छन् ।

Published : Monday, 2021 January 18, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया