पौडेल समूह किन गलत प्रचारमा लाग्यो ? कांग्रेस बैठकमा झडप भएकै हो ? यस्तो छ वास्ताविकता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचनको विरोध गर्दै आएको नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहलाई फाइदा हुने गरेर गतिविधि गरेको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पनि पौडेल समूहका नेताहरूले प्रचण्ड–माधव समूहलाई फाइदा हुने गरेर हर्कत देखाएका छन् । पौडेल निकट मानिने केन्द्रीय सदस्य गुरुराज घिमिरेले ठूलो स्वरमा भोलिनै आन्दोलन गर्ने भनेर अभिव्यक्ति दिएका थिए ।

जवाफमा सभापति शेरबहादुर देउवा निकट मानिने केन्द्रीय सदस्य शंकर भण्डारीले भोलिनै आन्दोलन गर्नेभन्दा पनि केन्द्रीय कार्यसमिति चलिरहेकोले बैठकको निर्णय पर्खिनुपर्ने बताएका थिए ।

सोही विषयमा घिमिरे र भण्डारीबीच भएको भनाइलाई वरिष्ठ नेता पौडेल समूहले कांग्रेसको बैठकमा हातहालाहाल भनेर प्रचाराबजी गरेका छन् ।

केन्द्रीय सदस्य भण्डारीले भनेका छन्, ‘नेपाली कांग्रेसको हिजोको केन्द्रीय कार्य समिति बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसंग जोडेर विभिन्न सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउँदछु ।’

‘बैठकमा संसद विघटनको विषयमा अदालतको निर्णय कुर्नुपर्ने र केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिनुपर्छ भन्ने धारणा राखेको समेत जानकारी गराउँदछु’, उनले भने, ‘सञ्चार माध्यमहरूलाई सत्य ,तथ्य र यथार्थ समाचार प्रकाशित गर्न आग्रह गर्दछु ।’

बुधबार कांग्रेसको बैठक सक्किएर नेताहरू आ–आफ्नो सिटबाट उठेर जाने क्रममा घिमिरेले ठूलो स्वरमा आन्दोलनको माग गरेको एक जना प्रत्यक्षदर्शी केन्द्रीय सदस्यले जानकारी दिए । जवाफमा भण्डारीले बैठक चलिरहेकाले सबैको धारणा आएपछि निर्णय गरेर जानुपर्ने भनाइ राखेका थिए ।

सोही विषयलाई पौडेल समूहले माहोल आफ्नो पक्षमा बनाउन झुठको सहारा र प्रोपोगाण्डा गरेको आरोप छ ।

बिहीबार बिहान नेपाली रेडियो नेटवर्कमा अन्तर्वार्ताका क्रममा केन्द्रीय सदस्य गगनकुमार थापाले कांग्रेसको बैठकमा झडप वा कुटाकुट केही पनि नभएको बताए ।

उनले भने, ‘बैठकमा म पनि छु । बाहिर समाचार आए जस्तो केही पनि भएको छैन । कसले के लेख्छ थाहा भएन । बैठकमा राखेको धारणा वा छलफललाई झडप भन्ने हो भने दिनदिन हुन्छ ।’

सभापति देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले अहिले नै सडक आन्दोलन गर्नेभन्दा पनि अदालतको निर्णय पर्खेर अगाडि बढ्दा उचित हुने धारणा राखिसकेका छन् ।

सभापति देउवा समूहले निर्वाचनका लागि प्रधानमन्त्री केपी ओलीलाई दवाव दिएर निर्वाचनमा जानुपर्ने अडानमा छ । तर, पौडेल समूह निर्वाचनभन्दा पनि संसद पुनर्स्थापना गर्ने पक्षमा छ ।

नेता पौडेलले निर्वाचनमा जान खुट्टा कमाइ सकेको आरोप छ । कांग्रेसका अधिकांश नेता कार्यकर्ताहरू निर्वाचनमा जानुपर्ने पक्षमा छन् । तर, पौडेल समूह किन निवाचनमा जान डराइरहेको छ कसैले बुझेको छैन ।

नेकपा फुट्नुभन्दा दुई दिन अगाडि वरिष्ठ नेता पौडेलसँग प्रचण्ड र माधवकुमार नेपालले भेट गरेका थिए । सो भेटमा संसद पुनर्स्थापना गरेर पौडेललाई राष्ट्रपतिको प्रस्ताव गरेको चर्चा छ । सोही प्रस्तावमा पौडेल लोभिएको आरोप कांग्रेसकै कार्यकर्ताहरूको आरोप छ ।

Published : Thursday, 2020 December 24, 10:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया