नेकपा दुई टुक्रा भएको २४ घण्टाभित्र सापकोटाले लिए ओलीसँग ‘पंगा’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटन नभएको दाबी गरेका छन् ।

सापकोटाले बुधबार विज्ञप्ति जारी गरेर प्रतिनिधि सभा विघटन नभएको बताएका हुन् । उनले भनेका छन्, ‘संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ ।’

‘नेपालको संविधानको धारा ९३ (१) बमोजिम यही २०७७ पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन शुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रुपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधि सभा र मलाई मर्माहत बनाएको छ’, सापकोटाले भनेका छन् ।

‘यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो’, पूर्वमाओवादी नेता समेत रहेका सभामुख सापकोटाले भनेका छन् ।

‘विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ’, सापकोटाले विज्ञप्तिमा भनेका छन् ।

‘सात दशकयताका बिभिन्न आन्दोलनको जगमा संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिंगो मुलुकको प्रमुख कार्यभार हो’, उनले भनेका छन् ।

सभामुख सापकोटाले भनेका छन्, ‘संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको छ ।’

‘संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरु, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको छ’, उनले भनेका छन् ।

पूर्वमाओवादी नेता समेत रहेका सापकोटा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका मानिन्छन् । दाहाल र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाप्रति सापकोटाको झुकाव रहेको आरोप छ ।

प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध सापकोटाको यो अभिव्यक्तिले तरंग ल्याइदिएको छ । विज्ञप्ति जारी गरेर सभामुख सापकोटाले प्रधामन्त्री ओलीसँग पंगा लिएको चर्चा नेकपाभित्र भएको छ ।

नेकपा दुई टुक्रा भएको २४ घण्टा कट्न नपाउँदै सभामुख सापकोटाले दाहाल–नेपाल समूहलाई राहत हुने गरेर विज्ञप्ति जारी गरेका छन् ।

Published : Wednesday, 2020 December 23, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया