कम्युनिस्टहरूको दुईतिहाइको घमण्ड तोडियो, आफ्नै पुरानो साइजमा आइपुगे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई अध्यक्ष पदबाट हटाएको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा मंगलबार बसेको बैठकले ओलीलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई सर्वम्मत रुपमा अध्यक्ष चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रवक्ता श्रेष्ठले बैठकपछि भने, ‘केपी ओलीले एतिहासिक परिवर्तन, संविधान, लोकतन्त्र र पार्टी एकताविरुद्धको कार्य गर्नुभएकोले पार्टी अनुशासनको गम्भीर उल्लंघन गर्नुभएकाले पार्टीको अन्तरिम विधानअनुसार अनुशासनको कारबाही गरि पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएको छ ।’

उनले भने, ‘रिक्त अध्यक्ष पदमा बैठकले सर्वसम्मतिबाट मधवकुमार नेपाललाई चयन गरेको छ ।’
प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘बालुवाटारको कथित भेला पार्टीलाई चोइट्याउन खोज्ने गुटको गतिविधि मात्रै हो ।’

नेकपाको बैठकले पुुस ५ गते केपी ओलीको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा घोषणा भएको प्रतिनिधि सभाको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी र स्वयच्छाचारी कदम ठहर गर्दै भर्त्सना र अस्वीकार गर्ने निर्णय गरेको छ ।

‘अविलम्ब संसदको अधिवेशन आह्वान गर्न र संसदको नियमित कारबाही सुचारु गर्न माग गरेको छ’, प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘यसको विरुद्धमा संघर्ष गर्ने घोषणा गरेको छ ।’

नेकपाले महिलासँग नाम जोडिएर सभामुख पद गमाएर काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका कृष्णबहादुर महरालाई स्थायी कमिटीको रिक्त एक सदस्यमा मनोनयन गर्ने स्थायी कमिटीको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

कैलाली जिल्लाका नेकपाका अध्यक्ष दीर्घ स्वडारीलाई यसअघि गरिएको अनुशासनको कारबाही मुक्त गरि बैठकले यथावत अध्यक्षको जिम्मेवारी दिएको छ ।

प्रवक्ता श्रेष्ठले नेकपा नफुटेको दाबी गरेका छन । ‘नेकपा फुटेको छैन’, उनले भने, ‘कमजोर बनाउने र चोइटिएको छ ।’

तपाईलाई प्रवक्ताबाट हटाइएको छ नि भन्ने जिज्ञासामा श्रेष्ठले भने, ‘कुनै व्यक्तिको प्रवक्ता होइन । नेकपाको प्रवक्ता हुँ । तथाकथित गुट र भेलासँग सम्बन्ध छैन ।’

उनले आफूहरूको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनालसहित ३१५ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको दाबी गरेका छन् । नेकपाको अर्को बैठक बिहीबार ११ः३० बजे बस्नेछ ।

नेकपाका दाहाल–नेपाल समूहले ओलीलाई कारबाही गरेसँगै नेकपा दुई टुक्रा भएको छ । कम्युनिस्टहरूको भ्रममा परेर विश्वास गरेर जनताले तत्कालीन एमाले र माओवादीलाई झण्डै दुईतिहाइको बहुमत दिएका थिए ।

तर, आफूभित्रको झगडा र अवसरवादी सोँचका कारण कम्युनिस्टहरू दुई चिरा परेका छन् । दुईतिहाइको घमण्ड मंगलबारदेखि तोडिएको छ । कम्युनिस्टहरू पुरानै आफ्नो साइजमा आएका छन् ।

Published : Tuesday, 2020 December 22, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया