कांग्रेसको आन्दोलन अनुमोदन

सम्पादकीय

नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन भएको तीन वर्षपछि सडकमा प्रदर्शन गरेको छ । झण्डै दुईतिहाइको बहुमत रहेको नेकपाको सरकार चौतर्फी रुपमा असफल भएपछि कांग्रेसले सडकमा आफ्नो शक्ति देखाएको छ । प्रधानमन्त्री केपी ओलीलाई आफ्नै पार्टीका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्ट भनेर लिखित प्रतिवेदन नै पेस गरेका छन् । यस्तो अवस्थामा कांग्रेसले देश र जनताका लागि सडक आन्दोलन गर्नु स्वभाविक हो । जनताले कांग्रेसलाई अपार समर्थन दिएका छन् ।

सडकमा कांग्रेसले सोँचेको भन्दा पनि धेरै जनता उत्रिएर आन्दोलनको स्वागत गरेका छन् । ओली सरकारबाट दिक्क भएका जनता स्वस्फुर्त रुपमा आन्दोलनमा सहभागी भएका हुन् । आन्दोलनमा आएका जनतालाई कांग्रेसले धेरै मेहनत गरेर बोलाएको पनि होइन । भ्रष्टाचार, अराजकता, बेथिति, कु–शासन, कोरोना रोकथाम र उपचारमा असफल लगायतका विषयमा सरकार असफल भएको छ । दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि भएर गरिव जनतालाई समस्या भएको छ । धेरैको रोजगारी गुमेको छ ।

कोरोनाबाट ज्यान बचाउन भारतबाट नेपाल आएका सर्वसाधारणहरू जोखिम लिएर पुनः भारत फर्किनु परेको छ । ती गरिव जनताको समस्यालाई सर्वहारा जनताको पार्टी ठान्ने र नेता मान्नेहरूको ओली सरकारले बेवास्ता गरेको छ । ओली सरकारको बेथित अति नै भएपछि प्रचण्डले लिखित रुपमा सचिवालयको बैठकमा भ्रष्टाचारी भनेर प्रस्ताव पेश गरेका छन् । त्यो प्रस्तावले ओलीलाई तनाब बनाइदिएको छ ।

कांग्रेसले जनताले झन् दुःख र कष्ट भोग्नुपर्ने अवस्था सिर्जना भएपछि पहिलो पटक आफूलाई शक्तिशाली अवस्थामा देखाएको छ । जनताले कांग्रेसलाई साथ दिएका छन् । जनताले कम्युनिस्ट र ओली सरकारको बिकल्प खोजेको संकेत सोमबारको विरोध प्रदर्शनले दिएको छ । कांग्रेसले आफूभित्रको विवादहरूलाई मत्थर बनाएर अब सरकारलाई दवाव दिएर जनताको पक्षमा काम गर्ने वातावरण बनाउनुपर्छ । कांग्रेसले सरकारलाई निरन्तर दवाव दिनुपर्छ । नयाँ कार्यक्रमहरू पनि घोषणा गर्नुपर्छ ।

सोमबारको सरकार विरोधी प्रदर्शनबाट कांग्रेसका नेताहरू पनि उत्साहित छन् । आन्दोलनलाई जनताले साथ दिँदैनन् कि भन्ने कांग्रेस नेताहरूो आशंक टुटेको छ । देशभरि जनता सडकमा उत्रिएको देखेर कांग्रेसका नेताहरू हर्षित बनेका छन् । सरकारमा बसेकाहरूलाई भने कांग्रेसको विरोध प्रदेशनले दवाव र तनाब दुबै बनाइदिएको छ ।

Published : Thursday, 2020 December 17, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया