जनताको जीवनसँग खेलवाड गर्ने यी कम्युनिस्टलाई दण्ड दिनुपर्छ

सम्पादकीय

तिहार भरखरै सक्किएको छ । पर्व मनाएर सर्वसाधारणहरू नियमित जीवनयापनमा फर्किएका छन् । कोरोनाको महामारी हुँदा पनि जोखिम लिएर तिहार मनाइएको छ । सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउने प्रयास भएका छन् । जनताले आफ्नो स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएका छन् । कोरोना संक्रमितको संख्या घट्नुभन्दा पनि बढिरहेको छ ।

कोरोना संक्रमणबाट मर्नेहरूको संख्या घटेको छैन । मर्नेहरूको संख्या बढिरहेको छ । पछिल्लो तथ्याङ्क हेर्ने हो भने दैनिक दश जनाले कोरोनाबाट ज्यान गुमाइरहेका छन् । तैपनि सरकारले कोरोना नियन्त्रण, रोकथाम र उपचारलाई जति ध्यान दिनुपर्ने थियो दिन सकेको छैन ।

मुलुक कोरोनाले बेहाल बनेको छ । जनता आक्रान्त छन् । मुलुकमा झण्डै दुईतिहाइको सरकार छ । सरकारबाट जनताले आशा गर्न छाडिसकेका छन् । सत्तारुढ दलभित्र यति ठूलो विवाद छ कि जनताको समस्या हेर्ने फुर्सद उनीहरूलाई छैन । नेकपाका नेताहरूले आफू केन्द्रित राजनीति गरिरहेका छन् । उनीहरूको यो क्रियाकलापले जनता निराश भएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयतका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को झगडाले मुलुकलाई राजनीतिक अस्थिरतातिर लगेको छ । राजनीतिक स्थायित्वको नाम दिएर झण्डै दुईतिहाइ बहुमत पाएका तत्कालीन एमाले र माओवादीले जनतालाई झुक्याएका छन् । उनीहरूको निर्वाचनमा जारी भएको संयुक्त घोषणा पत्र कार्यान्वयन हुन सकेको छैन । घोषणा पत्रलाई नेकपाका नेताहरूले लत्याइदिएका छन् ।

सरकार सहज रुपमा चलाउनुपर्ने थियो । उनीहरूले सरकार चलाउन असफलता प्रदर्शन गरिरहेका छन् । नेकपाका नेताहरूको दास बन्न बाध्य भएका छन् जनता । नेकपाका नेताहरू पाँच वर्षसम्म मिल्नुको बिकल्प छैन । कांग्रेस सानो आकारमा छ । कांग्रेसको आवाजको कतै पनि सुनुवाई भइरहेको छैन । आफैभित्र विवादित बनेको कांग्रेस पाँच वर्षसम्म सानो आकारमै रहनेछ ।

अझै पनि केही बिग्रिएको छैन । जनता धैर्यवान छन् । छिटो भुल्ने बानी छ । नेकपाको सरकारले जनताको म्याण्डेटअनुसार काम गरोस् । कांग्रेसले खबरदारीलाई यथावत राखोस् । सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढुन् । कोरोना महामारीका बेला कांग्रेसले सरकारलाई साथ दिएको छ । यस्तो सजिलो प्रतिपक्ष नेकपाले कहिल्यै पाउनेछैन । अबका साढे दुई वर्ष नेकपाले राम्रो काम गर्न सकोस् ।

नेकपालाई सरकारमा गएर झगडा गर्न भनेका होइनन् । नेकपाका नेताहरू सुध्रिनुपर्छ । सुध्रिएनन् भने जनताले नेकपाका नेताहरूलाई निर्वाचनका बेला दण्ड दिनेछन् । कोरोना महामारीका बेला झगडा गर्नेभन्दा पनि जनताको जीवन बचाउनुपर्छ ।

Published : Thursday, 2020 November 19, 8:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया