कोरोना संक्रमणबारे यी ३ तथ्य आत्मसात गरौँः डा.रविन्द्र पाण्डे

डा.रविन्द्र पाण्डे

नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्था छ | कोरोना संक्रमण ९५ % ले सजिलै जितेको अवस्था छ भने बाँकी ४.४ % लाई अस्पतालका देवीदेवताले बचाएका छन् | कोरोना भाइरसको शक्तिभन्दा हजारौं गुणा डरको कारण हामीहरु दिनप्रतिदिन कमजोर बन्दै गएका छौं | कोरोना संक्रमण भयो भने यी ३ अवस्था हुने हो |

१. सकभर संक्रमणबाट बच्ने हरसम्भव प्रयास गर्ने हो | घरमै बस्ने, बाहिर जानु परेमा अनिबार्य रुपमा सहि तरिकाले ( नाक र मुख राम्रोसंग छोप्ने गरि ) मास्क लगाउने, सम्भव भएसम्म ६ फिटको दुरी कायम गर्ने, भीडभाडमा नजाने, बन्द कोठामा भेटघाट नगर्ने हो | भाइरस सर्छ कि भनेर चिन्तित हुनु जरुरी छैन | चिन्ताले भाइरस नसर्ने होइन | व्यर्थ किन चिन्ता गर्ने ? किन पेनिक हुने ?

२. यति गर्दागर्दै पनि संक्रमण सर्यो भने त्यसको सामना गर्नुको बिकल्प छैन | संक्रमण भयो भने होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बस्ने | तलको लिंक अनुसार आफ्नो आहार, बिहार, आचार र ब्यबहारको पालना गर्ने हो | यसो गर्दा २ हप्तामा ठिक हुन्छ |

यदि कडा लक्षण देखिए ( सास फेर्न गाह्रो हुने, ज्वरो ४-५ दिनसम्म आउने, खान खान नसक्ने, अक्सिजनको मात्रा ९२ भन्दा घट्ने, ओंठ, नङ आदि निलो हुने, चक्कर लाग्ने आदि ) तुरुन्तै अस्पताल जाने हो | अस्पताल गएपछि निको हुन्छ | नेपालमा एक हजार संक्रमितमध्ये जम्मा ६ जनाको मृत्यु भएको छ | मृत्यु हुने अधिकांश व्यक्तिसंग बिबिध स्वास्थ्य समस्या हुन्छन् | उपचारले उकेरा लगाएको जीवनलाई कोरोना भाइरसले फुकेर ढालेजस्तै हो | हामी कोरोना भाइरससंग डराएको हैन | मृत्यु तथा रोगसंग डराएको हो | रोग निको हुन्छ, मृत्यु शाश्वत छ |

३. कोरोना संक्रमण / कोभिड निको भएपछि खानपिन, शारीरिक अभ्यास र आत्मबल वृद्धि गर्ने हो | पत्रपत्रिका, इन्टरनेट, टेलिभिजन, सामाजिक संजाल तथा असामाजिक संजालमा दुर्लभ केसलाई लिएर पस्किएका डरलाग्दा कुराको विश्वास गर्नुहुँदैन | संसारमा लाखौँ बैज्ञानिक र बिज्ञ छन् | उनीहरुले कोभिड लागेपछि कुन कुन अंगमा के असर गर्दो रहेछ भनेर अध्ययन गरेका हुन्छन् | जुन परिणाम प्राप्तिको लागि अनुसन्धान गरेका हुन्छन् , त्यस्तै रिपोर्ट निकाल्छन् |

सनसनीपूर्ण हल्लाको रुपमा कोरोना संक्रमण निको भएपछि फोक्सो, मुटु, कलेजो, किड्नी, मस्तिष्क, स्नायु आदि अंग खराब हुने, बच्चा नहुने, एक बर्षभित्र मृत्यु हुने, सधैको लागि दीर्घबिरामी हुने, मांशपेशी सधै गल्ने, मानसिक समस्या हुने आदि अनेक कुरा प्रकाशन प्रसारण गरिरहेका हुन्छन् | हामीले ती कुरा हेर्ने, होला त नि भन्ने, चिन्ता गर्ने काम नगरौं |

जुनसुकै रोग पनि निको भएपछि केहि हप्ता कमजोरी अनुभव हुन्छ | पौष्टिक खाना, शारीरिक सक्रियता, उच्च मनोबल, सकारात्मक सोंच तथा आफ्नो कामको व्यस्तताले ती पार्श्व प्रभाव हराउंदै जान्छन् | कुनै समस्या देखियो भनेपनि त्यसको उपचार हुन्छ | उपचार गरे निको हुन्छ |

हरेक व्यक्तिको शरीर, रोगप्रतिरोधात्मक क्षमता तथा जीवनशैली फरक फरक हुन्छ | अमुक ठाउँका केहि व्यक्तिलाई परिक्षण गरेर बायस स्टडीबाट आएका कुरा हामीलाई पनि हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन |

तसर्थ निको भएपछि भयो भयो भन्ने ठानेर आफ्नो जीवन सुचारु गर्ने हो | सूचना र समाचारको हाइ डोज नै तनाबको प्रमुख स्रोत हो | हाम्रो नन कोभिड जीवन निकै सुन्दर छ | त्यो सुन्दर जीवन बाँच्ने अभ्यास गर्यौं भने हामी स्वस्थ र निरोगी हुन्छौं | त्यसैले आउंदै नआएको समस्याको लागि फेक चिन्ता नगरौं | हुँदै नभएको कुराको डर नमानौं |

Published : Thursday, 2020 October 22, 8:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया