कांग्रेसकाे पालामा जस्तै अख्तियार सक्रिय हुनुपर्छ, होइन भने खारेज गरौँ

सम्पादकीय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना नेपाली कांग्रेसको सरकारले स्थापना गरेको हो । तत्कालीन मन्त्री एवम् नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले अख्तियारको कानून संसदमा प्रस्ताव गरेका थिए । त्यसपछि अख्तियारको प्रमुख भएर सूर्यनाथ उपाध्याय आए । उपाध्यायको सबैभन्दा पहिलो निशाना कांग्रेस भयो ।

कांग्रेस मात्रै भएनकि अख्तियार जन्माउने खुमबहादुर खड्कालाई नै जेल हाल्यो । त्यसपछि बहालवाला मन्त्री जयप्रकाशप्रसाद गुप्तालाई जेल हाल्यो । त्योभन्दा अगाडि कांग्रेसकै पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई अख्तियारले जेल हाल्यो । क्रमशः केही होइप्रोफाइल व्यक्तिहरू अख्तियारको फन्दामा परे । जले परे । प्रहरीका पूर्वआईजीपीहरू पनि जेल परे ।

कांग्रेसले जन्माएको अख्तियार अहिले मरेतुल्य छ । मुलुकमा कम्युनिस्टको झण्डै दुईतिहाइको सरकार छ । सरकारले अख्तियारलाई आफू निकटका व्यक्तिलाई सफाइ दिने कारखानाका रुपमा अख्तियारलाई प्रयोग गरिरहेको छ । नवीन घिमिरे अख्तियारको प्रमुख आयुक्त हुँदा सबैभन्दा धेरै विवादित हुन पुग्यो । बालुवाटार जग्गा काण्डमा घिमिरेले सत्तारुढ दलका नेता र हाइप्रोफाइल व्यक्तिलाई बचायो । सफाइ दियो । त्यसपछि अख्तियारको इमेज बिग्रियो ।

अख्तियारले नेपाल आयल निगमको जग्गा प्रकरण, मल काण्ड, ओम्नी काण्ड, वाइडबडी काण्ड, यति समूह काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्ड जस्ता काण्डलाई पर्दा हाल्ने प्रयास गरेको छ । घिमिरेले राम्रोसँग कार्यसम्पादन गर्न सकेनन् । घिमिरेले लोकमान सिंह कार्कीले जत्तिको पनि काम गर्न सकेनन् । अख्तियारमा कार्की हुँदा धेरैको सातो जान्थ्यो । घिमिरले त्यो छवि देखाउन सकेनन् । कार्कीका धेरै बद्मासी थिए । तर, कार्कीसँग धेरै मान्छे डराउँथे ।

घिमिरेले अख्तियारलाई नंग्रा नभएको बिरालो बनाएर छाडेका छन् । सत्ताको पिछलगुवा बनाएर घिमिरे गएका छन् । सत्तारुढ दलकै नेताहरूले अख्तियारको औचित्य छैन भनेर भन्न थालेका छन् । धेरैले अख्तियारलाई खारेज नै गर्न माग गरेका छन् । अख्तियारको ठाउँमा अर्को नयाँ संस्था जन्माउन पनि दवाव परिरहेको छ ।

यस्तो अवस्थामा आउने अख्तियारको नेतृत्वलाई धेरै चुनौतीहरू छन् । अहिले रहेको अख्तियारका आयुक्तहरूले पनि धेरै काम गर्न सक्छन् । तर, सत्ताको आडमा उनीहरूले पनि काम गर्न सक्ने छैनन् । बरु भ्रष्टहरूले छुट पाउनेछन् । १–२ हजार घुस खानेहरू मात्रै पक्राउ पर्नेछन् । ठूला माछा फुत्किने छन् । सफाइ पाउनेछन् ।

Published : Tuesday, 2020 September 22, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया