सीसीएमसीले दैनिक कार्य व्यवस्था मिलाउन जिल्लालाई दियो निर्देशन

काठमाडौं । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञा जारी भएका जिल्लामा दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको बैठकले निषेधाज्ञाले जनजीवनमा पारेको असरलाई व्यवस्थापन गर्न दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जनसमुदायमा पर्न गएको समस्यालाई मध्यनजर गरी मापदण्ड तोकेर दैनिक कार्य गर्न पाउने व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय भएको बताए ।

बैठकमा एम्बुलेन्सको सेवालाई प्रभावकारी बनाउने र कोभिड अस्पतालमा आइसीयू र भेन्टिलेटरको थप व्यवस्था गर्ने विषयमा छलफल भएको छ ।

नेपाल भेन्टिलेटर सेवाले सुरु गरेको भेन्टिलेटर बैंकको परिचालन स्वास्थ्य सेवा विभागमार्फत् गर्ने निर्णयसमेत गरेको छ ।

यसबाहेक तेस्रो मुलुकबाट हवाई उडानमार्फत् ‘पीसीआर’ परीक्षण भएका र नभएका व्यक्तिहरु एउटै जहाजमा आएको पाइएकाले त्यसलाई कडारुपमा कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एअरलाइन्स कम्पनीहरूलाई निर्देशन दिने निर्णय गरेको गुरागाईंले बताए ।

विभिन्न चाडपर्व, जात्रालगायतका गतिविधि सञ्चालनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको मापदण्डअनुसार हुनेपनि सचिव गुरागाईंले बताएका छन् ।

Published : Thursday, 2020 September 3, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया