रौतहटका प्रहरी प्रमुख खड्काको जिम्मेवारी खोसियो, शाहले पाए कमाण्ड

गौर । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काको जिम्मेवारी खोसिएको छ ।

खड्काको स्थानमा सिद्धिविक्रम शाहलाई पठाइएको छ । एसपी खड्कालाई प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएको छ । एसपी खड्काले जिम्मेवारीअनुसार कमाण्डिङको काम गर्न नसकेको अभियोग लागेको छ ।

ईलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका अभियुक्तलाई प्रहरीले यातना दिएको पाइएपछि एसपी खड्कालाई जिम्मेवारीमुक्त गरिएको हो ।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले हिरासतमा रहेका व्यक्तिलाई प्रहरीले यातना दिएको देखाएको छ ।

२ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुरले प्रहरी निरीक्षक नवीनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई यसअघि नै निलम्बन गरिसकेको छ । निलम्बित तीनै जना प्रहरी जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत थिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकरण सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालेएको थियो । हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइसकिएको छ ।

गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजय महरालाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको छ ।

१९ वर्षीय विजयको शरीरभरि निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् ।

Published : Thursday, 2020 September 3, 6:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया