कम्युनिस्ट सरकारले कोरोनामा गैरजिम्मेवार कार्य गरेपछि कांग्रेसले सचेत गरायो
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले कम्युनिस्ट सरकारले कोरोनाभाइरसको संक्रमण रोकथाम र उपचारका लागि आवश्यक तयारी गर्न गम्भीर नरहेको आरोप लगाएका छन् ।
डा.महतले बिहीबार विज्ञप्ति जारी गरेर सरकारले हचुवाको भमा निषेधाज्ञा र लकडाउन लगाउने र हटाउने कार्य हचुवाको भरमा गरेको भन्दै आपत्ति जनाए । उनले कोरोना रोकथाम र उपचारमा उचित काम गर्न नसकेको बताए । डा.महतले नागरिकको आर्थिक र सामाजिक कष्टलाई समाधान गर्न माग गरेका छन् ।
‘तत्काल कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरूको आर्थिक सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न फेरि पनि माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
‘नेपाल सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर छैन’, उनले भने, ‘उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ । देशको विभिन्न भागहरूमा पनि निषेधाज्ञा लागू गरिएको छ ।’
‘यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेका छन्’, डा.महतले भने, ‘अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ ।’
‘निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिदो छभने संक्रमण बढ्ने क्रम कम भएको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘कतिपय ठाउँहरूमा समुदायस्तरमा समेत संक्रमण फैलिएको छ । निषेधाज्ञा लगाउने वा नलगाउने निर्णय स्थानीय प्रशासनहरूले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ ।’
‘नेपाली कांग्रेसको तर्फबाट कोभिड–१९ अनुगमन समितिले केही दिन अगाडि १३ बुँदे ध्यानाकर्षण सहित सरकारसँग कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक—सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरेको थियो’, डा.महतले भनेका छन् ।
‘सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी देखिएन’, उनले भने, ‘हामी सरकारको यस्तो संवेदनहीनता र निस्क्रियताको घोर निन्दा गर्दछौं ।’
कोरोना रोकथाम र उपचारमा सरकारले निषेधाज्ञा र लकडाउनका बेला कुनै तयारी गरेको छैन । देशभरि कोरोना संक्रमितको मृत्यु हुनेको संख्या वृद्धि भइरहेको छ । संक्रमितको संख्या पनि बढिरहेको छ ।
कोरोनाले गर्दा दैनिक मजदुरी गरेर खाने वर्ग झन् समस्यामा रहेको कांग्रेसका सह–महामन्त्री डा.महतले बताएका छन् । उनले आर्थिक अवस्थाले कमजोर सर्वसाधारणका विषयमा ध्यान दिन सरकारसँग माग गरेका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया