पार्टी बचाउन वीपीको छोराले त्याग गर्नुपर्छ, देउवालाई मात्रै गाली गर्ने होइनः जन्मजय तिमिल्सिना

जन्मजय तिमिल्सिना, सदस्य, नेपाली कांग्रेस संगठन विभाग

नेपाल तरुण दलको तत्कालीन कार्यबाहक अध्यक्ष समेत रहेका कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिना देशभरिका तरुण युवाहरूले नै कांग्रेसलाई कम्युनिस्टको अधिनायकवादविरुद्ध परिचालन गर्न सक्ने बताउँछन् । नेविसंघबाट राजनीति शुरू गरेका तिमिल्सिनाले नेविसंघ र तरुण दलकाे सफलताका साथ नेतृत्व बहन गरिसकेका छन् । तिमिल्सिना तरुण दलमा ०५४ सालदेखि जोडिएका हुन् । तरुण दलको केन्द्रीय सदस्य, सचिवको पनि जिम्मेवारी सम्हालिसकेका छन् । बर्दिया जिल्ला निवासी तिमिल्सिना हालै नेपाली कांग्रेस संगठन विभागको सदस्य पदमा मनोनीत भएका छन् । संगठनको भावी कार्यक्रम, १४औँ महाधिवेशन र कोरोना नियन्त्रणमा सरकारको कमजोरीका विषयमा जन्मजय तिमिल्सिनासँग हाम्रा सहकर्मी विमल योगीद्वारा गरिएको कुराकानीको सम्पादित अंश –

कोरोना र पार्टीभित्रको आन्तरिक विवादका बेला कांग्रेसको संगठन विभागले अहिलेको परिस्थितिमा कसरी काम गर्छ ?


अहिलेको परिस्थितिमा संगठन गर्नु भनेको अत्यन्तै गाह्रो विषय हो । कोरोनाभाइरसको महामारीको अवस्था छ । देश संक्रमणकालीन अवस्थामा छ । देश र जनताले कोरोना महामारीबाट संघर्ष गरिरहेका छन् । नेपाली कांग्रेस जस्तो समाजवादी पार्टीले यस विषयमा गम्भीर हुन जरुरी छ । पार्टी नेतृत्वले मुलुकको परिस्थिति बुझेको अवस्था छ । हामी जनताका सेवक भएको कारणले समाजलाई रुपान्तरण गर्ने भएको हुनाले हामीले संगठनको काम गर्दैनौँ भन्न त मिल्दैन ।

कुनै न कुनै तरिकाले, कुनै न कुनै टेक्निकले हामीले संगठनमा बल पुर्‍याएर कांग्रेसलाई बल पुर्‍याएर कांग्रेसलाई मजबुत बनाउनै पर्छ । कांग्रेसलाई कम्युनिस्टहरूभन्दा सशक्त र दरिलो बनाउनुपर्छ । संगठन विभागका प्रमुख आदरणीय गोपालमान श्रेष्ठसहित सबैको ध्यान केन्द्रित हुनुपर्छ । स्वयं हामी संगठनमा लामो समय विद्यार्थीकाल, युवाकालदेखि हामी काम गर्दै आएको थुप्रै साथीहरू छौँ ।

हामीसँग जिल्ला पार्टी सभापति भएको र पार्टी चलाएको अनुभव भएका नेताहरू पनि हुनुहुन्छ । संगठन विभागकाे प्रमुख श्रेष्ठज्यू नेपाली कांग्रेसकाे कायर्बाहक सभापति सफलताका साथ चलाएकाे अनुभव सम्हालेका वरिष्ठ नेता हुनुहुन्छ । उहाँहरू पार्टीकाे संगठनबाट संघर्ष गरेरै यहाँसम्म आइपुगेका कारणले गर्दा मलाई लाग्छ संगठन विभागले गति लिन्छ । पार्टीको १४औँ महाधिवेशनमा राम्रो सन्देश जाने खालको संगठन चलायमान हुन्छ । संगठन निर्माणकाे काम गर्छाैं । आन्तरिक कुराहरूलाई मिलाउनुपर्छ । असन्तुष्ट समूहले पनि पार्टीलाई अफ्ठ्यारो पार्नु हुँदैन । सहमति, सहकार्य र मेलमिलापकाे नीतिले हामी अगाडि बढ्नुपर्छ ।

संगठन विभागबाट तपाईहरूले के–के कार्यक्रम दिनु हुन्छ ?

कार्यक्रम र आगामी रणनीतिका विषयमा छलफल गर्न असोज ७ गते संगठन विभागको बैठक बोलाएका छौँ । पहिलो बैठक परिचयात्मक र २–३ वटा निर्णय मात्रै भएर सकिएको छ । असोज ७ गतेको बैठकबाट कांग्रेसको संगठन निर्माणमा के कसरी काम गर्न सकिन्छ भनेर एउटा रणनीति र योजना तयार पर्नेछौँ । संगठन विभागका प्रमुखज्यूले पनि आन्तरिक गृहकार्य गरिरहनुभएको छ । कोरोनाले गर्दा संगठन प्रमुखसँग प्रत्यक्ष सरसल्लाह हुन नसकेपनि विभिन्न माध्यमबाट सम्पर्कमा छौँ । पार्टीमा लामाे अनुभव र कार्यबाहक सभापतिकाे जिम्मेवारी सम्हाल्नुभएका श्रेष्ठज्यूसहित हामी सबैकाे पहलमा कार्यक्रम गर्नेछाैँ ।

तपाई तरुण दलबाट आउनु भएको नेता । कांग्रेसमा देशभरिका तरुणहरूलाई क्रियाशील बनाउने कुनै योजना छ कि छैन ?

तरुण युवा भनेका कांग्रेसको मात्रै होइन सिङ्गो देशको मेरुदण्ड हो । नेपालको ठूला परिवर्तनहरू राणा, पञ्चायत, राजा, ०६२–६३ को आन्दोलन वा सत्ता परिवर्तनको हरेक आन्दोलनमा तरुण युवाहरूको ठूलो भूमिका छ । तरुण युवाहरूलाई जुन पार्टीले समेटेर अगाडि लैजान्छ त्यो पार्टी जहाँ पनि बलियो भएको विगतको इतिहास छ । म स्वयं पनि तरुण दलबाट आएको बर्दिया जिल्लाका थारु समुदायका बीचमा बसेर हुर्केको साधारण किसानको छोरा हो ।

मेरो पहिचान भनेको नेपाल तरुण दलको फलानो पोस्टमा हुनुहुन्थ्यो, तरुण दलमा राम्रो काम गर्नुभएको थियो । तरुण दलको तर्फबाट जेल जानुभएको थियो । तरुण दलको तर्फबाट संघर्ष गर्नुभएको थियो । नेपाल तरुणमा लागेका कारणले निरंकुश शासकहरूबाट दुःख पाउनुभएको थियो भन्ने पहिचान तरुण दलबाट पाएको हुँ ।

मैले तरुण दलबाट बनाएको पहिचानलाई नगुमाउने गरि देशभरिका युवा तरुणहरूलाई फेरि एकचोटी क्रियाशील बनाउने बेला आएको छ । तरुण दलबाटै आएको युवा नेता पार्टीमा हुनुहुन्छ । बालकृष्ण खाँणसहितका नेताहरू पार्टीको शीर्ष नेतृत्वसँग तथा पार्टी सभापति लगायतसँग सल्लाह गरे अब तरुण दललाई कसरी परिचालित गर्ने ? तरुण दलको संगठन कसरी मजबुद गर्ने ? त्यतातिर हामी केन्द्रित भएर अगाडि बढ्नुपर्छ भन्ने विषयमा दृढ छु । तरुणबाट पार्टी नेतृत्वमा गएका नेताहरूसँग सरसल्लाह गरेर हामी अगाडि बढ्ने छौँ । तरुण र युवाहरूको सरसल्लाह लिएर कार्यक्रम बनाउने छौँ । संगठन विभागले युवा पुस्तालाई परिचालन गर्ने गरेर कार्यक्रम बनाउनेछ । देशभरिका तरुण साथीहरूकाे सुझाव लिने छाैँ । पार्टीका अन्य साथीहरूकाे पनि सुझावअनुसार अगाडि बढ्ने छाैँ ।

विभागहरू गठन र विस्तार भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला लगायतले असन्तुष्टि जनाउनुभएको छ । असन्तुष्ट समूहलाई मिलाउने कुनै योजना छ तपाईहरूको ?

पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूले पार्टीमा विवाद छभने पार्टीभित्रै सहमति, सहकार्यबाट अगाडि बढ्न मेरो सुझाव छ । हामी कांग्रेस हौँ । हामी सबैले ‘रुख’मा छाप लगाउने हो । हामी वीपी कोइरालाका अनुयायी हौँ । वरिष्ठ नेता रामचन्द्र पौडेल दाईले पनि दुःख दिने, समस्या खडा गरिरहने, दश वटा समस्या झिकी रहने काम गर्नुभएन । पार्टीका विभागहरू तीन महिनाभित्र गठन गरिसक्नुपर्ने थियो ।

पार्टी सभापतिलाई सहमतिका नाममा रामचन्द्र दाईले अहिलेसम्म अल्झाएर राख्नुभयो । सहमतिका नाममा संगठन गर्न नदिने । पार्टी सभापतिले केही पनि गर्नुभएको थिएन भन्न मिल्दैन । पार्टी सभापतिबाट केही कमजोरी भएका होलान् । त्यो कमिकमजोरी गराउनेमा रामचन्द्र दाईहरूको किन सहमति हुन्छ त ? कमिकमजोरी हुँदा त्यतिखेर किन सचेत गराउन सक्नु हुन्न ? उहाँहरूको कुरा मिल्दा सहमति हुन्छ ।

उहाँहरूका कुरा पनि गजबको छ । नेविसंघमा सहमति हुन्छ । तरुण दलमा सहमति हुँदैन । रामचन्द्र दाईको व्यक्तिगत कुरा नमिलेको हो नि ? संगठन र विभागहरू गठनमा पनि उहाँहरूको व्यक्तिगत इन्ट्रेस्ट नमिलेको हो । पार्टीका लागि उहाँहरू आउनै पर्छ । सहमति हुनुपर्छ । उहाँहरूले लाज मान्नुपर्ने कुरा छैन । शेरबहादुर दाईले उहाँहरूलाई ६०–४० को भागबण्डा गरेर दिनुभएको छ ।

४० प्रतिशत भाग रामचन्द्र दाईलाई सभपातिले छुट्याएर राखिदिनुभएको छ । कतिसम्म झगडा गरेर पार्टीलाई लत्याउने ? पार्टी कमजोर भयो । टोलटोलमा गुटको प्रभाव छ । घरघरमा गुट छ । सामाजिक सञ्जालमा फोटो राख्दा समेत फलानाको मान्छे भनेर विवाद गर्ने परम्परा भइसक्यो । यो गुटको समस्या मेटाउनको लागि १४औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ ।

महामन्त्री डा.शशांक कोइरालाले सभापतिमा शेरबहादुर देउवालाई मैले मात्रै हराउन सक्छ भन्नुभएको छ । उहाँहरू दुई जनाबीच प्रतिस्पर्धा भयो भने डा.कोइरालाले देउवालाई हराउन सक्नु हुन्छ ?

कसले जित्छ भनेर नाप्ने यन्त्र त छैन । डा.शशांक कोइरालालाई म वीपी पुत्र हुँ, महामन्त्रीमा सबैभन्दा धेरै मत ल्याएँ, त्यसैले सभापतिमा जित्छु भन्ने मनभित्र आन्तरिक विश्वास होला । तर, शेरबहादुर देउवाको इतिहास पनि हेर्न जरुरी छ । शेरबहादुर दाईले वीपीसँग लामो संगत गरेर, त्याग गरेर, जेलनेल गरेर धेरै संघर्ष गर्नुभएको छ । शेरबहादुर धेरै पीडित मान्छेभित्र पर्नु हुन्छ । उहाँले गरेको संघर्षको इतिहासलाई कोट्याउने हो भने पार्टीमा लगानीको हिसावले गरेको भूमिका हेर्ने हो ।

शशांक दाईले शेरबहादुर दाईलाई हराउन सक्नु हुन्छ जस्तो मलाई लाग्दैन । महामन्त्री भएर शशांक दाईले के काम गर्नुभयो त ? हिजोसम्म चुपचाप बस्नुभयो । अहिले आएर कार्यकर्ताले उचालेको भरमा वा वीपी पुत्र हुँ भनेको आधारमा हुँदैन । उहाँलाई उचाल्नेहरू धेरै त महाधिवेशन प्रतिनिधि अर्थात भोटर भएर आउन सक्नु हुन्न । शशांक दाई त्यस्ता उक्साहटमा लाग्ने हो ? वीपी पुत्र हो भने त अहिले पार्टी कसरी सेफल्याण्डिङ हुन्छ भनेर काम गर्नुपर्ने थियो ।

उहाँले कसरी पार्टीलाई कसरी सेफल्याण्डिङ गराउनु हुन्छ ? शशांक दाईले आफू ब्याक भएर हुन्छ कि ? आफूले नेताहरूलाई सहमत गराएर हुन्छ कि ? पार्टीमा एकता गराएर अगाडि बढ्ने हो नि । देउवालाई हराएर मात्रै म सक्षम छु भन्ने हो भने कहाँनेर पार्टी मिल्छ ? देउवालाई म मात्रै हराउन सक्छु भन्ने उहाँको भनाइ साँढेको जुधा जस्तो कुरा भयो । उहाँले रिङ्भित्र बक्सर खेलाडीहरूको खेल जस्तो कुरा पो गर्नुभयो ।

आफूभन्दा सिनियर नेताहरूको मानमर्दन गर्नुभयो । सिनियर नेतालाई शशांक दाइले कसरी सम्मान गर्नुपर्छ विचार गर्नुपर्छ । शशांक दाईको अभिव्यक्तिले आफ्नै समूहभित्रका शीर्ष नेताहरूको समेत मानमर्दन गर्नुभएको छ । लोकतान्त्रिक तरिकाले प्रतिस्पर्धा गर्ने छुट छ । तर, वीपीको छोरो हुँभन्दैमा नेताहरूको अपमान गर्ने छुट छैन ।

वीपी कोइरालाको छोरालाई पार्टीको नेतृत्व त दिनु पर्‍यो नि ? कान्छो छोरालाई नेतृत्व नदिने हो भने त अन्याय हुँदैन र ?

पार्टीको नेतृत्व लिनका लागि उहाँले काम गर्नुपर्‍यो नि त । उहाँले पार्टीमा कति भयो काम गरेको ? हामीले जति पनि उहाँले पार्टीमा काम गर्नुभएको छैन । हामी जति पनि जेलनेल जानुभएको छैन । शशांक दाईलाई पार्टीका कार्यकर्ताले महामन्त्री बनाइसके । पार्टीको उपसभापति बन्नु होला । काम गर्दै जाँदा पार्टीमा अरु जिम्मेवारी पनि पाउनु होला ।

वीपी कोइरालाको कान्छो छोराभन्दैमा टीका लगाइदिने त ? आज वीपीको छोरा भन्नुभयो, भोलि वीपीको नाती होला, वीपीको पनाती होला । त्यो त हुँदैन नि । वीपीको इतिहास थियो । सुशील कोइरालाको आफ्नै इतिहास थियो । उहाँहरूले लामो संघर्ष गरेर यो देशमा लोकतन्त्रको लागि आफ्नो रगत पसिना बगाएको हो ।

आफ्नो कार्यकालमा शशांक दाईले पार्टीमा कार्यकर्ताले सम्झिने गरेर के काम गर्नुभयो ? जवाफ दिनु पर्दैन ? देशभरिका कार्यकर्तालाई जवाफ चाहिन्छ । बाबुको नामले वा बाबुले बनाइदिएको घरमा बसिराख्ने छोराले मेरो घर हो भन्न मिल्दैन । अहिले कांग्रेस भनेको वीपी कोइरालाको पुँजी हो ।

शशांक कोइरालाले त्यो पुँजीलाई बचाउनु नै उहाँका लागि सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने लाग्छ । उहाँले अरुलाई हराएर वा पच्छारेर म मात्रै ठूलो हुन्छु भन्ने मान्यता राख्ने होइन । यसरी जाने हो भने कसरी एकता हुन्छ ? उहाँले पच्छार्ने हो भने भोलिका दिनमा शेरबहादुर देउवासँग एउटा छुण्ड त रहिरन्छ । त्यो झुण्ड कहाँ जाने ?

सभापति शेरबहादुर देउवाले पनि त पार्टी चलाउन सक्नु भएन नि ?

सभापति शेरबहादुर देउवालाई पार्टी चलाउन दिइएको अवस्था छैन । मैले पूर्वाग्रही भएर भनेको होइन । पार्टी चलाउन खोज्दा हरेक ठाउँमा भागबण्डा खोजिन्छ । भागबण्डाले असहयोग गरेका कारण पार्टी संगठनभित्र राम्रो मान्छेले अवसर नै पाएको छैन । शेरबहादुर देउवाले पार्टीभित्र गुटको नाममा र असहयोग हुँदा उहाँसँगै काम गरेका मान्छेलाई अंगाल्न पनि सक्नु भएको छैन ।

गुटबन्दी र भागबण्डाको हिसाबमा राम्रो मान्छेलाई पनि मर्का परिरहेको छ । यो कुरामा शेरबहादुर दाई, रामचन्द्र दाई, शशांक दाईसहित सबै दाईहरू जो पार्टी सभापतिको आकंक्षी हुनुहुन्छ उहाँहरूले बुझ्न जरुरी छ । अहिले हामी कम्युनिस्टसँग लड्नुपर्ने बेला हो । हामी मिलेर जान सक्नुपर्छ ।

तपाई प्रदेश ५ को युवा नेता पनि हुनुहुन्छ । पार्टीको १४औँ महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिने योजना बनाउनु भएको छ ?

तत्काल त्यो सोँच बनाएको छैन । अग्रज नेताहरू र शुभेच्छुक साथीहरूसँग सरसल्लाह पनि गरेको छैन । म कांग्रेसको इमान्दार र अनुशासित कार्यकर्ता हुँ । तरुण दलको महाधिवेशनका बेला मलाई पोखरामा पनि साथीहरूले चाहिने–नचाहिने कुरामा उचालेका थिए । पार्टीको निर्णय जे हुन्छ त्यो मान्छु भनेको थिएँ र छु ।

पार्टीले त्यस बेला तरुण दलको अध्यक्ष जितजंग बस्नेतलाई बनाउने निर्णय गर्‍यो । मैले स्वीकार गरेँ । लगानी गरेर कसैले फल खान्छ भने त्यो पनि आत्मसन्तुष्टि हो । पार्टीले भोलिका दिनमा मलाई सहि मूल्यांकन गर्छ भनेको थिएँ । पार्टीको कुनै न कुनै तहमा मैले चुनाव लड्नै पर्छ । अहिले नै म यो पदमा लड्छु, त्यो पदमा लड्छु भनेर तत्काल भन्ने अवस्थामा छैन । अहिले त्यतातिर केही सोँच बनाएको छैन ।

तपाई आफै पनि तरुण आन्दोलनबाट आएको नेता, संगठन विभागको सदस्य । सरकारले कोरोना नियन्त्रण गर्न सकेन । कांग्रेसले सरकारलाई दवाव दिनै सकेन । किन होला ?

दवाव भनेको कस्तो हो ? खुँडा, भाला, लठ्ठी लिएर सडकमा जाने भनेको हो ? दवावका नाममा आन्दोलन चक्का जाम गराउने कुरा त भएन न नि ? पार्टी सभापतिले विज्ञप्तिमार्फत पनि कोरोना नियन्त्रण र रोकथाम, विदेशमा रहेकाहरूको उद्धार, अति विपन्नलाई राहत लगायतका माग र दवाव दिइरहनुभएको छ । प्रधानमन्त्रीसँग भेटेर पनि सभापतिले दवाव दिइरहनुभएको छ । कांग्रेस संसदीय दलले पनि आफ्नो तरिकाले दवाव दिइरहेको छ ।

विदेशबाट उद्धार गर्ने व्यक्तिहरूसँग महँगो पैसा उठाउन खोजेपछि कांग्रेसले विरोध गरेको छ । सरकार भनेको अभिभावक हो । महामारीका बेला कम्युनिस्ट सरकार सीमित व्यक्तिको मात्रै अभिभावक भएको जस्तो देखिएको छ । यो कुरा जनताले राम्रोसँग महशुस गरेका छन् । कोरोना उपचार र नियन्त्रणका नाममा १३ अरब रुपियाँ सरकारले खर्च गरिसकेको छ । १३ अरब रुपियाँको के काम गरेर उहाँहरूले देखाउनु भयो ? १३ अरबको योजना हुनु पर्दैन ?

सरकारले खर्च गरेको रकमको हिसाब किताब तपाईहरूले किन माग्नु भएन ?

हामीले मागेका छौँ । विज्ञप्तिमार्फत बोलिरहेका छौँ । नीति र नियम विपरितका कार्य गर्नु हुँदैन भनेका छौँ । कांग्रेसले मागेको हिसाब सरकारले दिएन भने नेपाली जनताले यसको हिसाब किताब माग्नेछन् । अहिलेका जनता हिजोका पञ्चायतकालीन जनता होइनन् । धेरै बुझ्ने जनता भएका छन् ।

सरकारले कोरोना नियन्त्रण गर्न सकेन भन्छन् । कोरोनाबाट जनता आक्रान्त छन् । स्वास्थ्य सामग्री खरिदमा त्यति ठूलो घोटाला भएको भन्छन । उद्धारमा त्यस्तै भएको छ । कृषि मलमा घोटाला भएको छ । यस्तो बेला कांग्रेस किन बोल्दैन ?

कांग्रेसले जनताको पक्षमा सधैँ बोल्दै आएको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारलाई दवाव दिइरहेको छ । यो सरकार कोरोना नियन्त्रण र रोकथाममा असफल भएको छ । कमिशनको चक्करमा लाग्दा जनताले दुःख पाए । दुईतिहाइको दम्भ र तानाशाह प्रवृत्तिले सरकारले प्रमुख विपक्षी दलले भनेको कुरा र सुझावहरू सुन्न सकेको छैन । उद्धारका नाममा खाडी र मलेसियामा रहेका नेपालीसँग असुल्न खोजेको छ । समयमा कृषि मल दिएको छैन । एक–एक हिसाब कांग्रेले खोजेको छ । हिसाब नदिएर सरकारले सुःख पाउँदैन ।

मुलुकमा कम्युनिस्टहरू बेथितिको दब्दबा छ । यसलाई कांग्रेसले कसरी रोक्छ ?

राष्ट्र र राष्ट्रियताको नाममा कम्युनिस्टहरूले जसरी झुठको खेती गरिरहेका छन् त्यसलाई जनताले राम्रोसँग बुझेका छन् । उनीहरू झुठो राष्ट्रवाद, झुठो राष्ट्रियता, खोक्रो आश्वासन, झुठा योजना, झुठा सपनाहरू बाँडेर कम्युनिस्टहरू झण्डै दुईतिहाइ बहुमत ल्याउन सफल भएका थिए । त्यसमा कांग्रेसका केही कमिकमजोरी होलान् ।

कांग्रेसभित्र केही मनमुटावका कारण उनीहरूको बहुमत आयो होला । जनताले कम्युनिस्टहरूको झुठको खेती अहिले आएर झर्लङ्ग बुझेका छन् । चुनावमा गरेका बाचाअनुसार कम्युनिस्टहरूले जनतालाई सुविधा दिएको छैन । अब कांग्रेसले कम्युनिस्ट सरकारका हरेक चर्तिकलाको भण्डाफोर गर्छ । जनतालाई सबै कुराको जानकारी गराउँछ । हामीभित्र केही कमिकमजोरी छभने मिलाएर जानुपर्छ । कम्युनिस्टसँग लड्नको लागि कांग्रेसभित्र एकताको खाँचो छ ।

मलेसियाबाट आउने नेपाली नागरिक, कोरियाबाट आउने नेपाली नागरिक, दुबइबाट आउने नेपाली नागरिक, भारतबाट लेबर काम गरेर आउने नेपाली नागरिकले उद्धारका नाममा भएका अनियमितताहरूको कुरा राम्रोसँग बुझेको छ । शेरबहादुर दाईले अगुवाइ गर्नुपर्छ । उहाँलाई सबैले साथ दिनुपर्छ । त्यसपछि मात्रै झुठको खेती गर्ने कम्युनिस्टहरू नेपालबाट समाप्त हुन्छन् ।
स्वास्थ्य सामग्री खरिद, कोरोनाका नाममा भएको १३ अरबको खर्च, मल काण्ड, उद्धार काण्ड,

सरकारको अनियमितता र भ्रष्टाचारका विषयमा कांग्रेसको नेतृत्वमा रहेको सार्वजनिक लेखा समितिले कुरा उठाउनु पर्दैन ?

सार्वजनिक लेखा समितिको निर्देशन र निर्णय कार्यान्वयन गर्न सरकारले चाहेको छैन । समितिको निर्णय कार्यान्वयन हुन सरकारले दिएको छैन । सर्वोच्च अदालतले गरेको निर्णयलाई त सरकारले लत्याइदिएको छ । गोकुल बास्कोटालाई सरकार चोख्याउन लागेको छ । विष्णु पौडेललाई चोख्याइ सक्यो । कहाँ छ कानून ? कहाँ छ नियम ? लेखा समिति देखाउने जस्तो मात्रै भयो । सरकारले लेखा समितिको गरिमा र त्यसको महत्वलाई ओझेलमा पार्ने काम गरेको छ ।

लेखा समितिले काम गर्न खोज्छ । तर, सरकारमा रहेकाहरूले निर्णय गर्न दिँदैन । कम्युनिस्टहरू बहुमतमा छन् । कांग्रेस एक्लैले केही गर्न सक्दैन । लेखा समितिले काम गर्न खोजेकै छ । कम्युनिस्टलाई ठीक ठाउँमा ल्याउने भनेको अबको निर्वाचनमा जनताले नै हो । सबै अनियमितताहरू लेखा समितिले क्रमशः उठाउँदै जान्छ ।

Published : Thursday, 2020 August 27, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया