मेरो सभापति डा.कोइराला, नेविसंघ भागबण्डामा देउवा-पाैडेलले विधान मिच्नुभाेः डा.सिंह (अन्तर्वार्ता)

डा.अमरेशकुमार सिंह, नेता, नेपाली कांग्रेस

नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नेताहरूलाई छोइसकेको छ । नेताहरूबीच एकले अर्कालाई आलोचना गर्नेदेखि खुइल्याउनेसम्मका कार्य गर्न थालेका छन् । महाधिवेशन शुरु भइसकेको अवस्थामा सभापति शेरबहादुर देउवाले विभागहरू गठन र विस्तार गरेका छन् । देउवाले धमाधम आफ्ना मान्छेहरू मनोनीत गरेका छन् । सभापतिमा पनि ४–५ जना आकंक्षी देखिएका छन् । यस्तो अवस्थामा उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवार बन्ने जनाइसकेका छन् । निधिलाई भारतले उचालेर सभापति बनाएको चर्चा कांग्रेसभित्र शुरु भएको छ । यी र यस्तै विषयमा प्रतिनिधि सभाका सांसद एवम् कांग्रेसका युवा नेता डा.अमरेशकुमार सिंहसँग हाम्रा सहकर्मी विमल योगीद्वारा गरिएको कुराकानीको सम्पादित अंश –

महाधिवेशनका बेला विभागहरू गठन र विस्तारको कुरा राम्रो हो कि नराम्रो हा ?

यो नराम्रो हो । कांग्रेस लोकतान्त्रिक पार्टी हो । डेमोक्रेटिक नम्समा चल्नुपर्ने । डेमोक्रेटिक नम्बस भनेको विधिको शासन हो । कांग्रेस पार्टीको आन्तरिक जीवनमा विधिको शासन मान्दैन भने उसले देशमा कम्युनिस्टहरू अहिले विधिको शासन मान्न छोडेका छन् । उनीहरूमाथि प्रश्न उठाउने नैतिक धरातल हुँदैन ।

हाम्रो विधानमा प्रष्ट लेखेको छ कि महाधिवेशन भएको छ महिनाभित्र सभपातिले विभागहरू गठन गर्न पाउनछ । व्यवहारिक हिसाबले भन्ने हो भने उहाँको चार वर्षको कार्यकाल सकिसकेपछि, उहाँ अहिले केयर टेकर अर्थात कामचलाउ सभापति हो । कार्यकाल चार वर्षको थियो । उहाँ त अहिले थपिएको समयको सभापति हो । थपिएको कार्यकालको कामलाई वैधानिकता मानिदैन । विधानमा छ महिना भनेर लेखेको छ, त्यो विधानको ठाडै उल्लंघन हो । सहमतिबाट विधान मिच्ने काम त्यो पनि राम्रो होइन ।

विभागहरू गठन र विस्तार भइसकेका छन् । विभाग गठन फिर्ता लिनुपर्छ भन्ने माग को कि तपाईको अब जे भयो त्यसलाई यथावत राखेर अगाडि बढौँ भन्ने हो । के छ यसमा तपाईको धारणा ?

वास्तवमा सभापतिजीले यो फिर्ता लिनुपर्छ । गलत कामलाई कसैले पनि स्वीकार गर्नु हुँदैन । अस्ति पनि गल्तीको शुरुवात नेविसंघबाट भएको छ । नेविसंघको विधान विपरित ९ जना महामन्त्री भागबण्डामा बनाए । चाहे रामचन्द्र पौडेलजीको भाग होस्, चाहे प्रकाशमान सिंहजीको भाग होस्, जसको भाग भएपनि त्यो समेत विधानको उल्लंघन हो । आफै नेविसंघको विधान ३२ वर्षभन्दा माथिको नबन्ने बनाउने । ४८ वर्षको मन्छेलाई नेविसंघको सभपाति बनाउने । सहमतिका नाममा पनि विधान उल्लंघन हुनु हुँदैन । विमतीको नाममा पनि विधान उल्लंघन हुने कार्यले पार्टीलाई कमजोर बनाउँछ । समग्र मुलुकको लोकतन्त्रलाई कमजोर बनाउँछ ।

तपाईलाई महाधिवेशन लागेर कठोर आलोचना गर्नुभएको हो कि पार्टीप्रति बफादार भएर यो धारणा दिनुभएको हो ?

हाम्रो पार्टीमा र हामीमा डेमोक्रेटिक स्कुलिङ छ । पार्टीमा गलत निर्णय भयो भने हामीले विरोध गर्नुपर्छ । म कांग्रेस मात्रै होइन । जनताले चुनेर संसदमा पठाएको जनप्रतिनिधि पनि हुँ । जनप्रतिनिधिले सरकारको कामकारबाहीलाई के आधारमा गैरकानूनी भन्ने ? पार्टीको गैरकानूनी कार्यलाई समर्थन जनाउने । सरकारको गैरकानूनी कार्यलाई गैर कानूनी कार्य भन्ने कुरालाई दुई चरित्र चल्दैन । राजनीतिमा एउटा नैतिक र ईमान्दारिता हुन्छ ।

कांग्रेसको १४औँ महाधिवेश कोरोनाका कारणले सर्ने कुरा पनि आइरहेको छ । पार्टीभित्र आन्तरिक विवाद पनि छ । यस्तो अवस्थामा फागुनमा महाधिवेशन हुने सम्भावना देख्नु हुन्छ ?

सतप्रतिशत म फागुनमा १४औँ महाधिवेशन हुने अवस्था देख्दैन । पार्टी सभापतिको नियत मलाई पहिला देखिनै थाहा छ । नीति के हो थाहा छैन । नियत उहाँको के थाहा छ भने ? साढे एक वर्ष म्याद थप गर्ने अधिकार सभापतिजीसँग छ । एक वर्ष पार्टीको विधानले र छ महिना संविधानले म्याद थप गर्न सक्नु हुन्छ । साढे एक वर्ष सजिलै उहाँले म्याद थप गर्न सक्नु हुन्छ । छ महिना पनि सभापतिजीले थप गर्नु हुन्छ ।

दल दर्तासम्बन्धी स्थानीय ऐनमा नै महाधिवेशन पाँच वर्षसम्म महाधिवेशन गर्न सकिएन भने छ महिना म्याद लम्बाउन सकिन्छ । दल दर्तासम्बन्धी ऐनमा नै यो व्यवस्था छ । त्यो ऐन राज्य व्यवस्था समितिले पास गरेको हो । मलाई कण्ठ नै छ । अर्को पटक सभापति बन्ने वा नबन्ने कुनै ज्ञारेन्टी छैन । साढे एक वर्ष म्याद थप गर्न कोरोनाको नाममा होस् वा अरुको नाममा होस् आफ्नै हातमा छ । सभापति देउवाजीले महाधिवेशन गर्न चाहेको भए फागुनमा नै गरिसक्नु हुने थियो । त्यस बेला कोरोना थिएन नि ।

सभापति पदमा ४–५ जना नेताहरूको नाम आइरहेको छ । तपाईले कसलाई समर्थन गर्नु हुन्छ ? र, तपाई कुन पदमा उम्मेदवार बन्नु हुन्छ ?

सभापतिमा म डा.शेखर कोइरालालाई समर्थन गर्छु । र, म आफै पनि मधेसी कोटाबाट सह–महामन्त्री पदमा पनि उम्मेदवार बनेर लड्छु । मेराे सभापति डा.शेखर काेइराला हाे ।

तपाई डा.शेखर कोइरालाको टिमबाट उम्मेदवार बन्छु भन्नुभयो । १४औँ महाधिवेशनमा तपाईको कार्ययोजना के छ त ?

अहिले हामी पार्टीको विधानदेखि लिएर देशभरि ७५ वर्ष उमेर कटेको कसैलाई पनि चुनाव लड्न पाउनु हुन्न भन्छौँ । अभिभावक बन्न सक्नु हुन्छ । पार्टी, मेयर वा अन्य पदमा चुनाव लड्नु हुँदैन । राजनीतिक कुरा परिवर्तन गर्नुपर्छ । दुई पटकभन्दा धेरै पटक प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्छ । एउटै निर्वाचन क्षेत्रमा दुई पटकभन्दा धेरै चुनाव लड्न नपाउने । सुधारको लागि यो आवश्यक छ । शेरबहादुर देउवा, पुष्पकमल दाहाल, खड्गप्रसाद ओलीलगायतका ठूला नेताहरू एउटै निर्वाचन क्षेत्रबाट सधै लडे भने बजेट त्यही क्षेत्रमा मात्रै केन्द्रित हुन्छ । पावरको दुरुपयोग हुन्छ । एक पटक बढी पटक निर्वाचन लड्न पाएन भने अर्को चुनावको क्षेत्रमा पनि जान्छ । अमेरिकामा बाराक ओबामा अहिले पनि लोकप्रिय थिए नि ? उहाँलाई कानून र संविधानले रोक्यो ।

हाम्रोमा त शेरबहादुर देउवाज्यू चार पटक प्रधानमन्त्री बन्नुभयो । अहिले पनि प्रधानमन्त्री बन्न खोज्नु हुन्छ । चार पटकसम्म उहाँले देशलाई राम्रो नगर्ने, पाँचौँ पटक के उहाँले देशलाई स्वर्ग बनाउनु हुन्छ ? दुई पटकभन्दा धेरै पटक प्रधानमन्त्री वा सभापति बन्ने हो भने आकाश त झार्दैन नि ? यिनीहरू सबै टेष्टेड छन् । ०४६ सालदेखि जुन पद खाएर बसेका छन् उनीहरूलाई होइन, युवा पुस्तालाई अगाडि सार्नुपर्छ । पार्टीमा पनि दुई पटकभन्दा बढि समय सभापति र पदाधिकारी बन्न नपाउने व्यवस्था गर्नुपर्छ । जिल्लाहरूमा जस्तै केन्द्रमा पनि व्यवस्था गर्दै जानुपर्छ । लोकतन्त्रको मूल्य र मान्यतालाई कुनै पनि अबमूल्यन गर्नु हुँदैन ।

भारतले विमलेन्द्र निधिलाई उचालेर सभापतिमा उम्मेदवार बनाउन लाग्यो भन्ने आरोप छ । त्यसमा सत्यता छ ?

विमलेन्द्र निधिको ठाउँमा म भएको भए मपनि सभापतिमा लड्थेँ । उहाँले अहिलेसम्म जति पनि पद खानुभएको छ सबै मनोनीत पद खानुभएको छ । महामन्त्री मनोनीत, उपसभापति मनोनीत नै खानुभएको छ । पार्टीको अबको व्यवस्थामा उपसभापतिमा मनोनीतको व्यवस्था छैन । उहाँ उपसभापतिमा निर्वाचित हुने सम्भावना किनै कम छ । कमसेकम सभापतिबाट लडेर निधिले गुटको अस्तित्व कायम राख्न सक्नु हुन्छ । जस्तै कृष्णप्रसाद सिटौलाजी सभापतिमा लड्नुभयो । जित्नु भएन । तर, गुट बन्यो नि ? ४–५ लाई केन्द्रीय सदस्य बनाउनुभयो । उमाकान्त चौधरी, शिव हुमागाइँ, गगन थापा, सुधिर सिवाकोटीलाई बनाउनुभयो । महिला संघमा भाग लिनुभयो । भोलिका दिनमा विमलेन्द्र निधि हार्नुभयो भने गुट रहिरहन्छ ।

कांग्रेसभित्र गुटको कल्चर बनिसकेको छ । आफ्नो गुटबाट टिकट दिने, मन्त्री बनाउने, केन्द्रीय कार्यसमितिमा राख्न सजिलो हुन्छ । योभन्दा अरु उपाय उहाँसँग छैन । शेरबहादुर देउवाजीले साथ दिएमा उहाँले पाउनु हुने थियो । निधिजीलाई समस्या छ । उपसभापति भइसकेको मान्छेलाई कोषाध्यक्षमा जान मिलेन, कि सदस्यमा बस्नु पर्‍यो ।

भारतले विमलेन्द्र निधिजीलाई उचालेको मैले देख्दैन । भारतसँग विमलेन्द्रजीको मात्रै होइन शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइरालाको पनि राम्रो छ । मेरै राम्रोसम्बन्ध छ । कांग्रेसको सम्बन्ध भारतसँग राम्रो छ । भारतले निधिजीलाई डमी उम्मेदवार बनाएको जस्तो मलाई लाग्दैन । भारतसँग राम्रो सम्बन्ध हुन्थ्यो भने विमलेन्द्र निधिजीले राजेन्द्र महतोसँग चुनाव हार्नु हुने थिएन । जनकपुरमा निधिजीले हार्नुभइसकेको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । यो कुटनैतिक रुपमा सफलता हो ?

यो कुनै कुटनैतिक सफलता होइन । ओली र मोदीजीबीच कुनै पनि वार्ता भएको होइन । अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस हो । त्यसको शुभकामना दिए भने त्यसलाई कसरी हेर्ने ? तपाईको छोराको विवाह हुन्छ भने कसैले शुभकामना दिन आउँछ भने शुभकामना र बधाइ लिने कि नलिने ? घरको छिमेकी दुश्मन नै छ भने बधाइ दिन्छ भने बधाइ लिने कि नलिने ? त्यहाँ कुनै कुटनैतिक वार्ता भएको छैन । मात्रै १५ अगस्टको शुभकामना मात्रै हो ।

Published : Thursday, 2020 August 20, 6:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया