कांग्रेस नेता मल्लद्वारा आफ्नै खर्चमा भिड हुने कार्यालयहरूलाई ‘सेनीप्रेस’ प्रदान

पर्वत । नेपाली कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले सेवाग्रहीको धेरै भिडभाड हुने कार्यालय, संघ–संस्था तथा पार्टी कार्यालयलाई ‘सेनीप्रेस’ वितरण गरेका छन् ।

पर्वत कांग्रेसका कोषाध्यक्ष समेत रहेका मल्लले खुट्टाले थिचेर हातमा सेनिटाइजर लगाउन मिल्ने मेसिन अर्थात ‘सेनीप्रेस’ वितरण गरेका हुन् । हातले छोएर सेटिनाइज लगाउँदा कोरोना भाइरसको संक्रमण सर्न सक्ने जोखिमलाई कम गर्न सहयोग होस् भनेर उनले ‘सेनीप्रेस’ वितरण गरेका हुन् ।

पर्वतको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, सशस्त्र प्रहरी बल नेपाल चण्डिका गण, नेपाल पत्रकार महासंघ पर्वत शाखा, नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय लगायतलाई मल्लले आफ्नै व्यक्तिगत खर्चमा निःशुल्क रुपमा ‘सेनीप्रेस’ वितरण गरेका छन् ।

मल्लले ५४ हजार रुपियाँ बराबरको १८ वटा ‘सेनीप्रेस’ बितरण गरेको जानकारी दिएका छन् । ‘भिडभाड हुने ठाउँमा हातले समातेर सेनिटाइजर प्रयोग गर्दा कोरोनाको संक्रमण एकबाट अर्कोमा सर्ने सम्भावना बढी हुन्छ’, उनले भने, ‘खुट्टाले थिचेर हातमा सेनिटाइजर राख्न मिल्ने प्रविधि अर्थात ‘सेनीप्रेस’ वितरण गरेको हुँ । यसले कोरोनाको संक्रमण रोक्न सहयोग मिल्ने आशा लिएको छु ।’

यसअघि, कांग्रेसका युवा नेता मल्लले जलजला गाउँपालिका, कुश्मा नगरपालिकाको बिपत् कोष, नेपाली कांग्रेस महाशिला, फलेवासको बिपत कोषमा नगद सहयोग, विभिन्न गाउँपालिका, नगरपालिका र संघ–संस्थालाई व्यक्तिगत खर्चमा ८ लाखभन्दा धेरैको स्वास्थ्य सामग्री वितरण गरिसकेका छन् ।

अध्यक्ष मल्लले महामारीको बेला सबै मिलेर कोरोनाभाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्ने दायित्व रहेको भन्दै आफूले सकेको सहयोग गर्दै आएको बताए ।

पर्वत कांग्रेसका कोषाध्यक्ष मल्लकै पहलमा नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणाले पर्वत, बागलुङ र म्याग्दीमा स्वास्थ्य सामग्र वितरणका लागि पठाइदिएकी थिइन् ।

Published : Wednesday, 2020 August 12, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया