कांग्रेस केन्द्रीय सदस्य बस्नेतका बुबाको अन्त्यष्टिपछि कोरोना पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका निधन भइसकेका बुबा स्व.खड्गबहादुर बस्नेतलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

८४ वर्षीय खड्गबहादुरको साउन २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो । उनको अन्तिम दाहासंस्कार भइसकेपछि मंगलबार कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २२ गते मृत्युपछि गरिएको स्वाबको रिपोर्टमा पोजेटिभ देखिएको बताए । डा.गौतमले मृत्यु भएका व्यक्ति सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–४ का ८४ वर्षीय पुरुष रहेको बताए ।

उपचारका क्रममा तीन दिनसम्म आईसीयुमा रहेका खड्गबहादुर बस्नेतको मिर्गौलाको समस्याका कारण मृत्यु भएको जानकारी आफन्तले दिएका थिए ।

बाह्रबिसेमा खड्गबहादुरको अन्त्यष्टि गरिएको थियो । उनको अन्त्येष्टिमा १५ सयभन्दा धेरै सहभागी भएको बाह्रबिसे नगरपालिका उप–प्रमुख सुशीला पाख्रिनले बताइन् । कोरोनाको रिपोर्ट ढिला आउँदा कोरोना समुदायस्तरमै पुगेको हुनसक्ने उनले बताइन् ।

जिल्ला स्वास्थ कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाइँले मलामी गएकाहरूको खोजी गरेर नमूना परीक्षण गरिने बताएका छन् । नगरपालिकाले वडा नम्बर २ मा सिल गरेको छ ।

पूर्वमन्त्री बस्नेतका पिताको मृत्युपछि कांग्रेससहित अन्य दलका पनि कयौँ नेता कार्यकर्ता मलामी तथा मृतकका परिवारलाई भेट्न गएका थिए ।

मलामी गएका सबैलाई सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । बस्नेतको निधनपछि नेकपा अनुशासन आयोगका प्रमुख अमृत बोहोरा र पूर्वमन्त्री शेरबहादुर तामाङलगायत सिन्धुपाल्चोक स्थानीय तहका प्रमुख, राजनीति दलका नेता कार्यकर्ता लगायत भेटघाटमा पुगेका थिए ।

Published : Wednesday, 2020 August 12, 6:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया