भोटेकोशीका १९१ परिवारलाई कांग्रेस नेताहरूले दिए नगदसहितकको राहत

निरोज चौलागाईं

भोटेकोसी । सिन्धुपाल्चोकमा नेपाली कांग्रेस भोटेकोशी गाउँपालिकाले बाढीपहिरो पीडित परिवारलाई राहत बितरण गरेको छ ।

अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट पीडित बनेका भोटेकोशी गाउँपालिकाका एक सय ९१ परिवारलाई कांग्रेसले राहत वितरण गरेको हो ।

पीडितहरूलाई खाद्यान्न, घरमा बिहीन भएका ३८ परिवारलाई ५ हजारका दरले नगद र गाउँपालिकाभित्र बाढीपहिरोबाट मृत्यु भएका र बेपत्ता १० परिवारका आफन्तलाई नगद सहयोग गरेको नेपाली कांग्रेस भोटेकोशी गाउँपालिका कार्यसमितिले जनाएको छ ।

असारदेखि नै पीडित बनेका उनीहरूलाई खाद्यान्न तथा लत्ताकपडा अभाव देखिएपछि कांग्रेस नेता साङ्बु शेर्पा, देवीबहादुर बुढाथोकी, सङ्दोर्जे शेर्पा, मुके शेर्पा, पासाङ नुर्बु लामा, समाजसेवी गेल्मु बुढाथोकी लगायतको व्यक्तिगत सहयोगमा बाढीपहिरो पीडितहरूलाई सहयोग गरिएको थियो ।

बाढीबाट क्षति पुगेपछि तातोपानी भन्सार कार्यालय र विभिन्न ठाँउमा रहेका आफन्तको आश्रय लिएर बसेका उनीहरूलाई सहयोग गरेको भोटेकोशी गाउँपालिका–४ का वडाध्यक्ष साङ्दोर्जे शेर्पाले बताएका छन् ।

बाढीको पीडामा परेका भोटेकोशी गाउँपालिकाका अधिकांश स्थानीयहरूले पुरानो थातथलोमा बस्न सक्ने अबस्थामा नभएको बताएका छन् । पीडितहरूले बसोबासको व्यवस्था गर्न माग गरेका छन् ।

सरकारले आफूहरूको बासस्थानको लागि केही पहल नगरेको पीडितहरूले गुनासो गरे ।

नेपाली कांग्रेसका तरुण विभागका नेता पासाङ नुर्बु लामाले सरकारले जग्गा उपलब्ध गराइदिने हो भने सहयोग जुटाएर घर बनाइदिने बताए ।

उनले कांग्रेस नेता मोहनबहादुर बस्नेतले सरकारले घर बनाउन नसके पीडितहरूको घर बनाइदिने आश्वासन दिएको बताउँदै कांग्रेस कुनै पनि कार्यबाट पछाडि नहट्ने बताए ।

Published : Tuesday, 2020 August 11, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया