कम्युनिस्ट किल्ला रामेछापका युवाहरू कांग्रेस प्रवेश, महामन्त्री डा.कोइरालाद्वारा स्वागत

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले रामेछाप जिल्लाका तीन दर्जनभन्दा धेरै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवाहरूलाई पार्टी प्रवेश गराएका छन् ।

काठमाडौंको महाराजगञ्जस्थित निवासमा डा.कोइरालाले नेकपाका युवा नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसमा भित्र्याएका हुन् ।

नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेमा दोरम्बा–६ का नवराज गौतम, दीपेन्द्र गौतम, विनाद गौतम, कुमार गौतम, सागर न्यौपाने लगायत युवाहरू रहेका छन् ।

रामेछापको दोरम्बा र वेथानलाई तत्कालीन माओवादीहरूले आधार क्षेत्र मान्दै आएका थिए । सो क्षेत्रका अधिकांश युवाहरू कम्युनिष्टको भ्रष्ट चरित्रका कारण कांग्रेसमा प्रवेश गरेको नवप्रवेशी नवराज गौतमले बताए ।

महामन्त्री डा.कोइरालाले नेकपा छोडेर युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेकाले आफूमा पनि उर्जा थपिएको बताएका छन् ।

कम्युनिष्टहरूको कुशासानका कारण नागरिकमा अविश्वास जागेको बताए । उनले नेपाली कांग्रेसको भनेको संघर्षको पर्यायवाची भएको भन्दै अन्याय र अत्याचारविरुद्धमा आवाज उठाउन युवाहरूलाई आग्रह गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यद्वय बद्री पाण्डे, जीवन परियार, कांग्रेसका नेता राचन्द्र खड्का, नेपाली कांग्रेस रामेछापका जिल्ला सभपाति लवश्री न्यौपानेले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।

Published : Tuesday, 2020 August 11, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया