पोखरामा १३ करोड हराएपछि नेविसंघले खोज्यो हिसाब, एमालेबाट निर्वाचित मेयर जिसीलाई तनाब

पोखरा । नेपाल विद्यार्थी संघ कास्कीले पोखरा महानगरपालिकाको १३ करोड राजश्व हराएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेविसंघ कास्कीका निमित्त अध्यक्ष विकास थापाले सोमबार विज्ञप्ति जारी गरेर महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा १३ करोड रुपियाँ हराएको र बेरुजु निस्किएको विषयले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनले एमालेबाट निर्वाचित मेयर मानबहादुर जिसीकै गैरजिम्मेवारीका कारण राजश्व हराएको आरोप लगाएका छन् ।

‘विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पोखरा महानगरपालिकाको रु. १३ करोड हराएको, बेरुजु निस्केको खखबरले नेविसंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘जनताको रगत पसिनाले कमाएको एक रुपियाँको महत्व थाहा नभएका जनतालाई स्मार्ट सिटीको सपना देखाउने मेयर मानबहादुर जिसीले अझै १३ करोड होइन पौने दुई करोड हो भनेर दिएको अभिव्यक्ति गैरजिम्मेवारीपनाको पराकास्टा हो’, निमित्त अध्यक्ष थापाले भनेका छन् ।

‘झण्डै एक दर्जनभन्दा बढि ठेक्कामा मिलोमतो, बेथितिलगायत भ्रष्टाचारका समाचार बाहिर आउनु महानगरपालिकाको रकम राउनुले महानगरका मेयर मानबहादुर जिसीलाई भ्रष्टाचारीहरूको नाइके प्रमाणित गरिदिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘तत्काल उक्त रकमको तिरोभरो महानगरका मेयर र उपमेयरले नगरे नेपाल विद्यार्थी संघ कास्कीले आन्दोलनको आँधीबेहरी सिर्जन ागर्ने प्रष्ट पार्न चाहन्छौँ’, नेविसंघ कास्कीका निमित्त अध्यक्ष थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पोखरा महानगरपालिकाको १३ करोड राजश्य हराएपछि खैलाबैला भएको छ । पोखरा महानगरपालिकामा तत्कालीन एमालेबाट मेयरमा मानबहादुर जिसीसहितको टिमले जितेको छ । कम्युनिस्टहरूमाथि भ्रष्टाचारको आरोप लागेका बेला पोखरा महानगरपालिकामा १३ करोड राजश्व गायब भएको समाचार बाहिरिएको छ ।

Published : Monday, 2020 August 10, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया