काठमाडौं उपत्यकामा काेराेनाकाे जोखिम रोक्न मेयरहरूले उठाए कठोर कदम, ओली सरकारलाई दवाव

काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढेपछि रोकथापमका लागि काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका नगरपालिका र महानगरपालिकाले सबै सेवाहरू बन्द गर्ने निर्णय गरेका छन् ।

काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिका र महानगरपालिकाका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार काठमाडौंमा बसेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो । तीन हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् ।

मेयरहरूको बैठकले गरेका निर्णयहरूले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई ठूलो दवाव परेको छ ।

मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदायस्तरमा कोरोनाभाइरसको संक्रमणको उच्च जोखिम देखिएकाले भिडभाड कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको बताए ।

सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालन भएपछि संक्रमण तीव्र गतिमा फैलिएको भन्दै श्रेष्ठले सार्वजनिक यातायात सञ्चालन भदौ १५ गतेसम्म फेरि रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए ।

कलकारखाना, उद्योग धन्दा, निर्वाध रुपमा सञ्चालन भइरहँदा संक्रमणको जोखिम बढेकोले उद्योग तथा कलकारखानाभित्रै क्वरेन्टिनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय भएको छ ।

सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद साउन मसान्तसम्म रहेकोमा असोज मसान्तसम्म कायम गर्न, उपत्यका प्रवेश गर्ने प्रस्थान बिन्दुमा कडाइ गर्न र एकीकृत क्वरेन्टिन केन्द्र सरकारले सञ्चालन गर्ने र नगरपालिकाले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।

मेयरहरूले सरकारको समर्थन वा विरोधमा ¥याली, भेला, अनसन, जुलुसलगायतका गतिविधि गर्न कडाइका साथ निषेध गर्ने निर्णय पनि गरेका छन् ।

साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि मेयरहरूले गरेका छन् ।

मास्क नलगाइ आवत जावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरूलाई कारबाही गर्ने विषयमा समन्वय गर्ने निर्णय पनि फोरमले गरेको छ ।

व्यापारिक क्षेत्र तथा सपिङ मल, होटल, रेस्टुरेन्ट आदिमा कोरोना संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेकोले उच्च सतर्कता मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने र नियमित अनुगमन गरी कारबाही गर्ने मेयरहरूले जनाएका छन् ।

अनाधिकृत रुपमा उपत्यका प्रवेश गरेका निर्माण कार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरू बढी देखिएको भन्दै तरकारी व्यापारलाई साँझ र बिहान मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ ।

निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई भदौ १५ गतेसम्मको लागि निषेध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Published : Monday, 2020 August 10, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया