ओखलढुंगामा माओवादी र समाजवादीका लाेकप्रिय युवाहरू कांग्रेस प्रवेश, खतिवडाद्वारा स्वागत

ओखलढुंगा । ओखलढुंगामा तत्कालीन नेकपा (मओवादी) र संघीय समाजवादी पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मानेभञ्ज्याङ गाउँपालिका–९ मा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा (माओवादी) वडा महिला सदस्यकी उम्मेदवार कोपिला राई र संघीया समाजवादीका युवा नेता नवीन राईसहित १५ जना कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टीमा प्रवेश गराएका छन् ।

युवा नेता खतिवडाले कांग्रेसमा प्रवेश गरेका सबै स्थानीय नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा कुनै पनि प्रकारको भेदभाव नहुने बताए । उनले अहिलेको कम्युनिस्ट सरकारबाट जनता अति नै समस्यामा परेको भन्दै विभिन्न पार्टी छाडेर कांग्रेस प्रवेश गर्ने साथीहरूलाई क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिइने बताए ।

‘तपाईहरू आज कांग्रेसमा प्रवेश गर्नुभएको छ’, खतिवडाले भने, ‘नयाँ साथीहरू लगाउनुभएको रातो सिन्दुरको प्रतीक जितको हो । त्यसैले हामीले जित्ने छौँ ।’

कांग्रेसका नेता खतिवडाले भने, ‘राणा र राजाको अन्त्य गरेको नेपाली कांग्रेसलाई जिताएर यो देशमा फेरि शान्ति र समृद्धितर्फ हामीले नै लैजाने छौं ।’

‘म सधैं तपाईंहरूसँग सहकार्य गर्न तयर छु’, खतिवडाले भने, ‘नेपाली कांग्रेसले हार्दा ओखलढुंगा जिल्ला मात्र होइन पूरै देश हारेको छ । अब कांग्रेसले हार्दैन । जनताले नै कांग्रेसलाई हार्न दिँदैनन् ।’

नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवारले नयाँ प्रवेशी युवा साथीहरूलाई सधै उर्जाका साथ काम गर्न आग्रह गरे । उनले कम्युनिस्टको ज्यादतिका विरुद्ध सधैं लाग्न पनि निर्देशन दिएका छन् ।

‘पार्टीमा नयाँ हु भन्ने आभास तपाईहरूलाई कहिल्यै हुन दिनेछैन’, उनले भने, ‘तपाईहरूसँग काँधमा काँध मिलाएर मैदानमा मपनि कांग्रेसको संगठन निर्माणमा खटिनेछु ।’

सभापति सुनुवारले सबै नेता तथा कार्यकताहरूलाई जनसेवामा जुट्न अनुरोध गरेका छन् । उनले ०४६ साल अगाडिको राम्रै पञ्च हुँ भन्नेहरूको आज के हालत भएको छ सबैले स्मरण गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता खतिवडा, सभापति सुनुवार, जिल्ला सचिव रुद्र अधिकारी, क्षेत्र नं. २ का क्षेत्रीय सभापति तथा मानेभञ्ज्याङ गाउँका प्रमुख मोतीराज राई र सह–सचिव तथा मानेभञ्ज्याङ गाउँपालिका उप–प्रमुख सविता राईले नवप्रवेशीहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराएको पूर्वसांसद खतिवडाका स्वाकीय सचिव हुकुम राइले जनकारी दिए ।

Published : Monday, 2020 August 10, 7:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया