कांग्रेसका खतिवडाद्वारा ओखलढुंगाको क्वारेन्टिनको अनुगमन, छिटो नमूना परीक्षण गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाको मानेभञ्ज्याङमा रहेको होल्डिङ सेन्टरको अनुगमन गर्नुका साथै क्वारेन्टिनमा बसेकाहरूको स्वास्थ्य अवस्थाको जानकारी दिएका छन् ।

आइतबार खतिवडाले मानेभञ्ज्याङ गाउँपालिका– ७ स्थितमा रहेको हर्कपुर माविका होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूको स्वास्थ्यको जानकारी दिएका हुन् । सेन्टरमा विदेशबाट २९ जना रहेका छन् ।

कांग्रेस नेता खतिवडाले क्वारेन्टिनमा बसेकाहरूलाई सान्त्वना दिँदै सुरक्षित रुपमा बस्न आग्रह गरेका थिए ।

‘ओखलढुंगा मात्रै होइन देशभरिका क्वारेन्टिन वा होल्डिङ सेन्टिरहरू अन्तर्राष्ट्रिय मापदण्डका छैनन्’, उनले भने, ‘ओखलढुंगामा अन्यत्रको भन्दा केही राम्रो बनाउने प्रयासहरू भएका छन् । क्वारेन्टिनमा सुरक्षित साथ बस्नु होला ।’

क्वारेन्टिनमा बसेकाहरूले आफूहरूलाई अपहेलित गरे जसरी ठूलाबडा भनिनेहरू कोही पनि भेट्न नआएको भन्दै खतिवडासँग खुसी साटेका थिए । खतिवडाले ३–४ मिटर परैबाट तोकिएको स्वास्थ्य मापदण्डमा रहेर क्वारेन्टिनमा बसेकाहरूसँग भलाकुसारी गरेका थिए ।

क्वारेन्टिनमा बसेकाहरूले आफूहरूलाई भेट्न कोही पनि नआएको र अपहेलित जस्ता बनाएर राखेको भन्दै खतिवडासँग गुनासो गरेका थिए ।

क्वारेन्टिनमा बसेकाहरूले ६ दिन भैसक्दा पनि आफूहरूको पीसीआर टेस्टका लागि नमूना संकलन नभएको गुनासो गरेका थिए ।

काठमाडौंबाट ओखलढुंगा आउनलाई हरेक ब्यक्तिसंग गाडीहरूले ५५०० लिएको समेत दुखेसो उनीहरूले पोखेका छन् । खतिवडाले धेरै भाडा लिएर ठगी गर्ने सवारी साधनका बारेमा जानकारी दिए कारबाही गर्ने आश्वासन समेत दिएका छन् ।

क्वारेन्टिनमा बसेकाहरूको गुनासो सुनेपछि कांग्रेस नेता खतिवडाले तुरुन्त ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर पठाउन आग्रह गरेका थिए । जवाफमा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीले नमूना संकलन गरेर विराटनगर पठाउने आश्वासन दिएका छन् ।

Published : Monday, 2020 August 10, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया