गौतम बुद्ध नेपालमा जन्मिएका हुन्ः भारत

काठमाडौं । भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आइतबार विज्ञप्ति जारी गरेर गौतम बुद्ध लुम्बिनीमा जन्मिएको र लम्बिनी नेपालमा रहेकोमा कुनै शंक नरहेको बताएका हुन् । ‘बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ’, विज्ञप्तिमा भनिएको छ ।

शनिबार नयाँ दिल्लीमा भएको एक कार्यक्रममा भारतीय विदेशमन्त्री एस. जयशंकरले बुद्धलाई महान् भारतीयका रुपमा चित्रण गरेपछि नेपालले यसको विरोध गरेको थियो ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।

विदेश मन्त्री एस.जयशंकरले दिल्लीमा भारतीय उद्यमी तथा व्यवसायीहरूको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्धारा आयोजित इन्डिया एट ७६ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए ।

उनले यो कार्यक्रममा दिएको अभिव्यक्तिबारे मिडियाबाट राखिएका जिज्ञासाको जवाफ भनेर जारी गरिएको विज्ञप्तिमा विदेशमन्त्री जयशंकरले नेपाल र भारतबीच रहेको संयुक्त बौद्ध परम्परा र सम्पदालाई इंगित गरेको प्रष्टीकरण पनि दिइएको छ ।

Published : Sunday, 2020 August 9, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया