कांग्रेसले दियाे आदिवासीहरूलाई शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्व आदिवासी दिवसका अवसरमा शुभकामना दिएका छन् ।

सभापति देउवाले आइतबार शुभकामना सन्देश जारी गरेर शुभकामना दिएका हुन् । उनले नेपाली कांग्रेसले नै समावेशिताको प्रारम्भ गरेको बताएका छन् ।

‘नेपाली कांग्रेसले आदिवासी जनजातिको हक र अधिकारका निमित्त संघर्ष गर्दै आइरहेको इतिहास साक्षी छ’, देउवाले भने, ‘नेपाली कांग्रेसकै नेतृत्वमा आदिवासी जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको निर्माण भैसकेको छ ।’

‘नेपाली कांग्रेस नेपाली समाजमा विद्यमान जातीय, भाषिक, सांस्कृतिक, धार्मिक एवं क्षेत्रीय विविधतालाई नेपाली राष्ट्रियताको धरोहर मान्दछ’, देउवाले भनेका छन् ।

‘सबै जाति, समुदाय, भाषा, संस्कृतिको ‘पहिचान भेटिने र जातीय द्वन्द मेटिने’ नीतिको अख्तियार पनि नेपाली कांग्रेसले नै गर्‍यो’, उनले भने, ‘नेपालका आदिवासी जनजातिको उत्थान एवं अधिकार स्थापना तथा आदिवासीहरुको सांस्कृतिक संरक्षणमा समेत यो दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफलता प्राप्त हुने मैले विश्वास लिएको छु ।’

‘आजको यो अवसरमा आदिवासीको भाषा, संस्कृतिको कदर गर्दै विश्वका समस्त आदिवासी लगायत सबैका बीच विश्व वन्धुत्व एवं आपसी सद्भाव निरन्तर रहि रहोस् भन्दै शुभकामना व्यक्त गर्दछु’, उनले भनेका छन् ।

आदिवासी जनजातिहरूमाथि सम्बन्धित औपनिवेशिक राज्यबाट नियोजित तरिकाले गरिरहेको राजनीतिक, भाषिक, सांस्कृतिक, धार्मिक, शैक्षिक विभेद तथा मानव अधिकार हनन् लगायत सबै खाले उत्पीडनबाट मुक्ति दिलाउन संयुक्त राष्ट्र संघद्वारा १९९४ मा घोषणा गरिएको विश्व आदिवासी दिवस (अगष्ट ९ का दिन) लाई विश्वभरिका आदिवासी जनताले अन्तर्राष्ट्रिय पर्वको रुपमा मनाउँदै आइरहेका छन् ।

Published : Sunday, 2020 August 9, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया