कोरोनाबाट दुईको मृत्यु, काठमाडौंमा ९० संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले दुई जनाको मृत्यु भएको बताए । शनिवार तीन जनाको मृत्यु भएको थियो ।

पोखरा महानगरपालिका वडा नं. १९ वस्ने ६२ वर्षीय पुरुषको शनिवार राति ११ः३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको डा.गौतमले बताए ।

ती मधुमेहका रोगी रहेको र साउन १७ गते कोभिड–१९ पुष्टि भएपछि सघन उपचार कक्षमा उपचाररत रहेको बताइएको छ ।

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं. २ का २० वर्षीया महिलाको शनिवार निधन भएको छ ।

उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुग्दा मृत घोषित भएकी थिइन् । उनको मृत्युपश्चात गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।

बिहीवार र शुक्रवार पाँच–पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको थियो । कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट ३८० जना संक्रमित भेटिएको प्रवक्ता डा.गौतमले बताए । काठमाडौं उपत्यकामा ९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पर्सा जिल्लामा ७३ जनामा कोरोना भेटिएको डा.गौतमले बताए । संक्रमित व्यक्तिहरूको संख्या २२,९७२ पुगेको छ ।

प्रवक्ता डा.गौतमले अहिले ६,५४४ जनामा सक्रिय संक्रमण देखिएको बताए । उनले १६,३५३ जना कोरोना भाइरसमुक्त भएको बताएका छन् । धनुषाका ३७ र मोरङका २८ जनामा संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी सक्रिय संक्रमित पर्सामा रहेका छन् । पर्सामा आइतवार ९०३ जना उपचाररत छन् ।

काठमाडौंका ७९० जना उपचाररत छन् । रौतहटका ७४५ जना र महोत्तरीका ५७९ जना उपचाररत छन् ।

काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ९४८ रहेको छ । ललितपुरका १०५ र भक्तपुरका ५३ जना संक्रमित उपचारमा छन् ।

Published : Sunday, 2020 August 9, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया