चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई सेवा सुविधान दिन कञ्जुस्याइँ गर्नु हुँदैनः डा.महत

काठमाडौं । नेपाली कांग्रेसले कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा नेपाल चिकित्सक संघका प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

काठमाडौंमा शुक्रबार कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महत नेतृत्वको समितिले संघका पदाधिकारी र प्रतिनिधिहरूसँग कोरोनाभाइरसको संक्रमणका विषयमा छलफल गरेको हो ।

कार्यक्रममा चिकित्सक लगायत स्वास्थाकर्मीले भोगीरहेका समस्या र समाधानका बिकल्पमा केन्द्रित रही छलफल भएको थियो ।

छलफलमा सहभागीहरूले महामारीका समयमा पहिलो लाइनमा रहेर काम गर्नुपर्ने चिकित्सकहरूको मनोबल बढाई सेवा सुविधा समेतमा सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।

कोरोना अनुगमन समितिका संयोजक एवम् कांग्रेसका सह–महामन्त्री डा.महतले महामारी नियन्त्रणमा पहिलो लाइनमा रही सेवा गरिरहेका चिकित्सकहरूको मनोबल उच्च राख्न अपील गरे । उनले चिकित्सकहरूलाई सरकारले सेवा सुविधा उपलब्ध गराउन कञ्जुस्याइँ गर्न नहुने बताए ।

डा.महतले सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री नै बेसार खाएर कोरोना सकिन्छ भन्ने जस्ता हल्का टिप्पणीमा लाग्नु दुःखद् भएको बताए । उनले स्वास्थाकर्मी र विज्ञहरूले पहिलेदेखि नै सजक गराएका विषयहरू सरकारले गम्भीर रुपमा नलिएका कारण अहिलेको अवस्था आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस अनुगमन समितिका सदस्यहरू एनपी साउद, डा.प्रभु बुढाथोकी, डा.लक्ष्मीराज पाठक, राजिवबिक्रम शाह, नैनसिंह महर तथा नेपाल चिकित्सक संघका पदाधिकारी र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Published : Friday, 2020 August 7, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया