बिहीबार काठमाडौं र पर्सामा कोरोनाबाट चार जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ ।

बिहीबार कोरोनाबाट काठमाडौंमा दुई र पर्सामा दुईको मृत्यु भएको हो । योसँगै कोरोनाको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

पछिल्लो दुई दिनमा मात्र १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण काठमाडौं उपत्यका थप दुईजनाको मृत्यु भएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–९ माईस्थानका एक पुरूषको कोरोना संक्रमणबाट पाटन अस्पतालमा बिहीबार मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई पाटन अस्पतालमा भर्ना गरिएकोमा बिहीबार दिउँसो मृत्यु भएको आफन्तजनले जनाएका छन् ।

मुटु रोगी समेत रहेका उनमा स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उपचारका लागि वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो ।

कन्ट्याक्ट ट्रेसिङमा परेका उनकी ५५ वर्षीया दिदीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । दिदीको अवस्था सामान्य छ ।

यसैगरी ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

दम, होइपोथाइरोडिजम र उच्च रक्तचापका बिरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो । १७ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

समुदाय स्तरमा संक्रमण फैलिएको मानिएको पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

साउन २० गते राति आफ्नै घरमा मृत्यु भएका वीरगञ्ज–११ मुर्लीका ८० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृत्युपछि नारायणी अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।

बिहीबार बिहान वीरगञ्जस्थित अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु भएका अर्का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज १० आदर्शनगरका ५६ वर्षीय पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको छ ।

उनको बिहान ८ बजे मृत्यु भएको थियो । मधुमेह र मुटुरोगबाट ग्रसित उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको कोभिड अस्पतालका संयोजक डा.उदय नारायण सिंहले बताए ।

Published : Friday, 2020 August 7, 12:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया